धुर्कोटले दियो वडामै गाउँपालिकास्तरीय सेवा, उपचार देखि परिचयपत्र र फर्म दर्तासम्म गाउँमै

एकता न्यूज / मंसिर १, २०७८ - बुधबार


गुल्मी- दुवै खुट्टा नचल्ने  धुर्कोट गाउँपालिका –१ नयाँगाउँका बुद्धिराम पोखरेल गाउँमै जाँच गराउन पाउँदा निकै खुसी भए । २२ बर्षअघि भारतमा दुर्घटनामा परी ढाड भाँचिएका कारण दुवै खुट्टा नचल्ने र तीन तीन महिनामा जाँच गराउनु पर्ने उनलाई धुर्कोट गाउँपालिकाले सञ्चालन गरेकाे  एकीकृत घुम्ती शिविर जाँच गराउँदा समय र पैसाकाे बचत भयाे ।
‘जाँच गराउन पाल्पा जाँदा÷आउँदा धेरै खर्चिलो हुन्थ्यो ।’ उनले भने, ‘घरदैलोमै गाउँपालिकाले शिविर संचालन गर्दा फाइदा पुगेको छ ।’ उनले एक महिनाको लागि निःशुल्क औषधी पाएका छन् । अघाँखाँचीको खनदह निवासी ६५ बर्षिय रमादेवी खनालले पनि स्वास्थ्य शिविरबाट दम, प्रेसर, ग्यास्टिक लगायतको औषधी पाइन् । रेडियोमा सुचना बजेर स्वास्थ्य शिविरबारे थाहा पाएकी उनले शिविरले आफुजस्ता धेरैलाई फाइदा पुगेको बताइन् । ‘तम्घासमा पाइने सेवा यही (नयाँगाउँ) पाइएको छ ।’ उनले भनिन, ‘समय र खर्चको बचत भएको छ ।’

बुद्धि र रमादेवीले मात्र होइन, नयाँगाउँकी हिरा कुमारी घर्तीले पनि एकीकृत घुम्ती शिविरबाट सेवा लिइन् । सेवामा उनले गोरुको लागि औषधी लगिन् । ‘गोबर परीक्षणदेखि औषधीसम्म पाइदो रहेछ ।’ उनले भनिन्, ‘पालिकाको कार्यालयबाट दिने सेवा नै वडाबाट पाउँदा स्थानीय सरकार घरमै आएजस्तो लाग्यो ।’

गाउँपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै धुर्कोट गाउँपालिकाले सोमबार वडा नम्बर १ नयाँगाउँमा एकीकृत घुम्ती सेवाको संचालन ग¥यो । शिविरबाट पशुको लागि गोबर परीक्षण र औषधी वितरण, राजस्व बुझ्ने, व्यवसायीको लागि फर्म दर्ता र नविकरण सेवा प्रदान गरिएको थियो ।
ज्येष्ठ नागरिकको लागि परिचय पत्र वितरण, अपाङ्ग परिचय पत्र वितरण, सनराइज बैंकमा खाता खोल्ने सेवा नयाँगाउँमा प्रदान गरेको छ । त्यस्तै तम्घासको शुभलक्ष्मी फर्मासँगको सहकार्यमा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा पनि संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए ।
एकदिने शिविरबाट नयाँगाउँका ९८१ बाख्रा तथा ५६ भैँसीलाई औषधी वितरण गरिएको छ । त्यस्तै ७० बाख्रा र ३५ भैँसीको गोबर परीक्षण गरिएको छ । पशुतर्फ कुल १८२ घरपरिवारले सेवा लिएका छन् । सनराइज बैंकमा २३ जनाले नयाँ खाता खोलेका छन् । कृषि, पशु र पसल नविकरण नौ जना तथा पाँच जनाले नयाँ दर्ता गरेको गाउँपालिकाका एम्.आई.एस्. कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए । कुल १९० जनाले स्वास्थ्य परीक्षण गरेका छन् भने १५८ भन्दा धेरैलाई ज्येष्ठ नागरिकको परिचय पत्र वितरण गरिएको भण्डारीले जानकारी दिए।

नागरिकलाई सहज सेवाका लागि गाउँपालिकाले घुम्ती सेवाको संचालन गरेको हो । केही समयपछि यो सेवा वडा नम्बर २ पिपलधारा, वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा पनि संचालन गर्ने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘संघीयताको सफल कार्यान्वयन अन्तरगत टाढा रहेका ठाउँमा सेवा प्रदान गर्ने उद्येश्य हो ।’ उनले भने, ‘यसबाट नागरिकलाई धेरै सहज भएको छ ।’

Comment from facebook

Top