कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु, डेढ महिनायताकै उच्च

एकता न्यूज / साउन २४, २०७८ - आइतवार


 

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

यसअघि गत असार ९ गते एकैदिन ८१ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता कोरोना संक्रमणबाट हुने मृत्यु संख्या लगातार घटेर असार २९ गते १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

त्यसपछि भने संक्रमितको मृत्यु पुनः बढ्दै गएको छ । साउन १ गते एकैदिन ४३ जनाको मृत्यु भएको थियो । त्यसयता दैनिक मृत्यु हुने संक्रमित संख्या १६ देखि ३७ को बीचमा रहेको थियो ।

तर आइतबार एकैदिन ५५ जना संक्रमितको मृत्यु भएपछि दैनिक मृत्यु हुनेको संख्या पनि बढ्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । शनिबार भने कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर उत्कर्षमा रहेका बेला जेठ ५ गते एकैदिन सबैभन्दा बढी २४६ जना संक्रमितको मृत्यु भएको थियो ।

 

Comment from facebook

Top