आगामी चैत सम्म सबैलाई कोभिड विरुद्धको खोप दिने सरकारको घोषणा

एकता न्यूज / साउन २४, २०७८ - आइतवार


काठमाडौँ – सरकारले चैत मसान्तसम्ममा खोप लगाउन योग्य नागरिकलाई कोभिड-१९ विरुद्ध निशुल्क खोपको व्यवसथा गर्ने घोषणा गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको संयुक्त सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको गठबन्धनको कार्यदलले सरकारका न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ ।

कोभिड–१९ बाट उत्पन्‍न महाविपत्तिबाट उन्मुक्ति पाउने कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु यस्ता छन् :

– खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापनाको लागि पहल गर्ने ।

– उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू तथा फ्रन्टलाइनरहरूका लागि प्रोत्साहन भत्ता प्रदान गर्ने । अग्रस्थानमा रही योगदान गर्ने राष्ट्र सेवक कर्मचारीहरूलाई आवश्यकताअनुसार सुरक्षा सामग्री उपलब्ध गराउने ।

– कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने ।

– कोभिड-१९ को सम्भावित तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गूणस्तरीय स्वास्थ्य सामग्रीकव व्यवस्था गर्ने । अक्सिजन तथा अन्य औषधिजन्य सामग्रीको व्यवस्था गर्ने ।

– स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्ने र दोषि देखिएका व्यक्ति तथा संस्थाउपर कारबाही गर्ने ।

Comment from facebook

Top