गुल्मीको भनभनेमा एम्बुलेन्स सेवा शुरु

एकता न्यूज / साउन १२, २०७८ - मङ्लबार



पूर्कोटदह  –गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ७ को भनभने स्वास्थ्यचौकीमा एम्बुलेन्स सेवा शुरु भएको छ । भनभनेका जनतालाई स्वास्थ्य उपचारमा जानका लागि समस्या भएकोले पालिकाले १० लाख रुपैयाँ लगानीमा एम्बुलेन्स किनेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो ।

सोमबार गाउँपालिका अध्यक्ष दानबहादुर केसीले वडाध्यक्ष काँशी बहादुर बोहोरालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । वडामै एम्बुलेन्स सञ्चालन हुने भएपछि अब उपचारका लागि बाहिर जाने बिरामीलाई पुर्कोटदह, धुर्कोट लगायतबाट एम्बुलेन्स मगाउनुपर्ने वा चर्को शुल्क तिरेर गाडी रिजर्ब गर्नुपर्ने समस्या अन्त्य भएको अध्यक्ष केसीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरिता केसीले पहाडको कच्ची बाटोमा सहज रुपले चल्न सक्ने खालको एम्बुलेन्स भनभनेलाई उपलब्ध गराइएको बताउनुभयो ।एम्बुलेन्स पाएपछि अब स्वास्थ्य उपचारमा जानका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष बोहोराको भनाई छ ।

Comment from facebook

Top