पश्चिम गुल्मीको विकास : सडक कालोपत्रे, यात्रु अलपत्र

एकता न्यूज / साउन ५, २०७८ - मङ्लबार


                          

गुल्मी– दुई वर्षअघिसम्म तम्घास-सिमलटारी सडक हुँदै यात्रा गर्नेहरूको समस्या थियो हिउँदमा धुलोले यात्रा गर्नै नसकिने, बर्खामा हिलोमा फसेर गाडी गुड्नै नसक्ने । मोटरबाटो खुलेको ३० वर्षसम्म सास्ती भोगेका जनता सडक कालोपत्रे भएपछि ठूलो राहत हुने आशमा थिए । तर भैदियो उल्टो । सडक कालोपत्रे भएपनि अत्यावश्यक ठाउँमा पुल नबन्दा पश्चिम गुल्मीको मदाने र मालिका गाउँपालिकाबाट सदरमुकाम पुग्ने यात्रुहरू अलपत्र पर्ने अवस्था आएको छ । 

मदन भण्डारी लोकमार्गको तम्घास सिमलटारी खण्डमा पर्ने गुर्बा खोला, हुलाके, रोदी खोला, अर्जै फूलबारी र घमिर खोला (सिलादी)मा पक्की पुल नबन्दा  वर्षायाममा साना तथा ठूला सवारी साधन आवतजावता समस्या हुने गरेको हो । 

ति खोलाहरूमा सामान्य कल्भर्ट समेत नहुँदा सानो पानी पर्दापनि खोला बढेर गाडी चल्न सक्दैनन् । खोलाले गाडी बन्द हुँदा गत जेठमा मालिका ७ घमिरका कोभिड संक्रमित दम्पतीलाई झण्डै ३० घण्टाको प्रयासपछि मात्र उपचारका लागि तम्घास अस्पताल पुर्‍याइएको थियो । 

सामान्य पानी पर्दा पनि खोलाहरू उर्लेर आउने भएकोले पुल नभएपछि यात्रुहरू त प्राय अलपत्र पर्छन् नै, गर्भवती, सुत्केरी लगायत अन्य बिरामीहरु लाई अस्पताल पुर्‍याउन र  दैनिक उपभोग्य सामग्री पुर्‍याउन समस्या परेको स्थानीयको गुनासो छ । 

सो सडकको गुर्बा खोलामा बनेको कल्भर्ट थुनिएर गत बर्ष वरपरका घर डुबेपछि स्थानीयले कल्भर्ट नै भत्काइदिएका थिए। एकवर्षसम्म न सो कल्भर्ट भत्काउनेलाई कारवाही कारबाही भयो न त नयाँ कल्भर्ट नै बन्यो । खोला साँघुरो भएकोले सानो पानी पर्दा पनि गाडीले खोला तर्न सक्दैनन् ।   

पश्चिम गुल्मीको मदाने र मालिका गाउँपालिकाका सबै र ईश्मा र धुर्कोटका केही वडाका जनतालाई बर्खामा आवतजावत नै ठप्प पार्ने ति खोलाहरूमा तत्काल कल्भर्टहरु राखेर समस्या समाधान गर्ने कुनै योजना भने सरकारी निकायसँग छैन । मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले तत्काल कल्भर्टको योजना नभएपनि सो सडक खण्डमा पाँचवटा पक्की पुलको लागि डिपिआर भइरहेको बताए । 

२०४३ सालमा ट्रयाक खोलिएको २८ किलोमिटर उक्त सडक दुई वर्षअघिमात्र ६८ करोड ६१ लाख रुपैयाँमा कालोपत्रे गरिएको थियो । तीन पटक प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गोकर्ण विष्टकाे निर्वाचन क्षेत्रभित्र उनकै गाउँपालिका हुँदै जाने सडकमा पुल नभएर समस्या भाेग्नु पर्दा जनताले दुःख मानेका छन् । 

 

Comment from facebook

Top