मदानेको उपहार : ३१६ परिवारलाई नयाँ घर, ८५० लाई टिनको छानो

एकता न्यूज / असार २२, २०७८ - मङ्लबार


 

गुल्मी – विभिन्न कारणले घरबार विहीन हुने अवस्थामा पुगेका ३१६ परिवारलाई गुल्मीको मदाने गाउँपालिकाले घर उपहार दिने भएको छ । पालिकाको आफ्नै लगानी तथा विभिन्न सरकारी निकायसँगको समन्वयमा भूकम्प, बाढी पहिरो लगायतका कारणले विस्थापित भएका र विपन्नताका कारण घर बनाउन नसक्ने परिवारलाई घर उपहार दिने भएको हो । 

पालिकाले वडा नं. ३ को सिर्सेनीमा सालझण्डी ढोरपाटन सडकका कारण विस्थापित १७ परिवारलाई एकीकृत बस्ती निर्माण गरिदिएको छ । गाउँपालिकाले आफैले जग्गा खरिद गरि घर निर्माण गरिदिएको उक्त बस्तीमा विस्तापितको परिवार बस्न शुरु गरिसकेको पालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले बताए । ‘सो वस्तीको उद्घाटन यहि आर्थिक वर्षभित्र गर्ने तयारी छ,’, उनले भने ।

त्यस्तै पालिकाले सोही वडाकै काफलपाटाखन्युखर्कमा पहिला बसिरहेको ठाउँमा असुरक्षा भएको कारण विस्थापित हुने अवस्थामा पुगेका विपन्न परिवारका लागि पनि ३२ वटा घर बनाइदिएको छ । ति घरहरू निर्माणको चरणमै रहेकोले चाँडै सम्पन्न हुने उनको भनाई छ ।  

अर्को एक फरक कार्यक्रममार्फत गरिबीको रेखामुनि रहेका ७ वटै वडाका १२८ परिवारका घर निर्माण भईरहेका छन् । उनीहरूलाई घर निर्माणको लागि प्रति परिवार ५० हजारका दरले रकम दिने कार्यक्रम अन्तर्गत अहिलेसम्म ६५ परिवारलाई दिएको र आगामी आर्थिक वर्षसम्म सबैलाई रकम उपलब्ध गराइने र सबैका घर निर्माण सम्पन्न हुने पालिकाले जनाएको छ ।  

त्यस्तै मदानेमा भूकम्पका कारण क्षति भएका १ सय ३२ परिवारको पनि सरकारी सहयोगमा घर निर्माण भएका छन् । उनीहरूका घर निर्माणका लागि पालिकाले समन्वय गरेर प्राधिकरणले प्रति घर ३ लाख उपलब्ध गराएको छ । अन्य विभिन्न पालिकाहरूमा भूकम्पपीडितले घर भत्केर पनि स्थानीय तहले समन्वय नगरेको अवस्थामा मदानेमा सबैले घर बनाउन पाएका हुन् ।

त्यस्तै पालिकाको पहलमा लुम्बिनी प्रदेशको सुरक्षित आवास कायक्रम अन्तर्गत अतिविपन्न परिवारका ७ वटा घर बनिरहेका छन् । पालिकामा जनतालाई बाँच्नका लागि आधारभूत आवश्यकता पालिकाले पूरा गरिदिने अभियान अन्तर्गत काम गरिरहेको गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईँले बताए ।  ‘निरपेक्ष गरिबीका रेखामुनि रहेका जनतालाई सुरक्षित रुपमा बस्न पाउने अधिकार सुनिश्चित गर्न हामी लागेका छौँ,’ उनले भने, ‘गाँस, बास र कपासका लागि गाउँपालिकाको उच्च प्राथमिकता छ ।’ 

पालिकाका सबै घर खरका छानामुक्त
मदाने गाउँपालिकाले खरका छाना भएका सबै ८५० परिवारलाई जस्ता पाता उपलब्ध गराएर खरका छानामुक्त घर बनाएको छ । यसका लागि पालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएको थियो ।

खरका छाना भएका सबै घरहरूमा जस्तापाताले छाएकोले अहिले खरले छाएका घरहरू शून्य रहेको भएपनि खरका छानामुक्त पालिका घोषणा भने नभईसकेको पालिकाका सूचना अधिकारी पोख्रेलले बताए।

जनप्रतिनिधी जनतालाई गास, बास र कपास लगायत मौलिक हकको  सुनिश्चितताका लागि निर्वाचित भएकोले जनतालाई विपद् जोखिमबाट सुरक्षित राख्न पालिकाले सबै प्रकारका सहयोग गर्ने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । ‘हामी जनताकै सेवाका लागि निर्वाचित भएका हो,’ उनले भने ‘ जनतलाई बस्ने बास नहुँदा जुनसुकै पहलबाट पनि निर्माण गर्नुपर्छ भनेर विभिन्न निकायसँगको समन्वय तथा पालिका आफैले घर निर्माण गरिदिएको हो ।’

 

Comment from facebook

Top