नेपालमै अक्सिजन सिलिण्डर बनाउन शुरु, बिहीबार परिक्षण सफल भए अक्सिजन अभाव नहुने

एकता न्यूज / बैशाख २९, २०७८ - बुधबार


काठमाडौं । नेपालमा अक्सिजन अभाव पूर्ति गर्नका लागि अक्सिजन सिलिण्डर बनाउन शुरु गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपालमै अक्सिजन सिलिण्डर बनाउने भएको हो ।

अस्पतालमा बिरामीलाई अक्सिजनको अभाव भएपछि नाष्टले स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी सिलिण्डर बनाउन थालेको हो ।

नास्टका वैज्ञानिक तथा वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालको नेतृत्वमा उद्योग क्षेत्रसँग सहकार्य गरि यो परियोजना शुरु गरिएको हो । परियोजनाका लागि उद्योग क्षेत्रबाट इन्जिनियरहरु सुजन श्रेष्ठ, कृष्णा ढकाल र पूर्णराज सुवेदी यसमा संलग्न रहेका छन् ।

वैज्ञानिक ढकालका अनुसार सिलिण्डरको मोड्युल तथा प्रोटोटाइप तयार भइसकेको भएपनि नेपालमा त्यसको परिक्षण गर्ने कुनै पूर्वाधार नभएकोले परिक्षण गर्ने पूर्वाधार बनाउने काम भईरहेको छ ।

अक्सिजन सिलिण्डरले भने १५० केजी प्रति वर्ग सेन्टिमिटरको चाप थेग्नुपर्ने भएको र त्यसको परिक्षण गर्ने कुनै प्रविधि नेपालमा नभएकोले नास्टमै अक्सिजन सिलण्डर परीक्षणको सेटअप समेत बनाउन थालिएको वैज्ञानिक ढकालले जानकारी दिए । ‘हामी भोलि बिहीबारसम्म यो सेटअप तयार पारिसक्छौं,’ उनले भने ।’

कोभिड १९ का कारण अस्पतालमा अक्सिजन दिनुपर्ने बिरामी बढेपनि सिलिण्डर अभावका कारण अस्पतालमा पर्याप्त अक्सिजन उपलब्ध नभएपछि धेरै बिरामीको मृत्यु भैरहेको छ । अक्सिजन अभाव भएको भन्दै ठूला निजि अस्पतालहरुले बिरामी भर्ना बन्द गरेका छन भने कतिले भर्ना भएका बिरामी समेत फिर्ता गरेका छन् ।

यस्तो अबस्थामा भारत वा चीनबाट सिलिण्डरहरु ल्याउने प्रयास भएपनि भारतमा आफै बिरामीको चाप छ भने चीनबाट सिलिण्डर ल्याउन धेरै महँगो पर्न जान्छ । त्यसको समस्या समाधान गर्न नेपालमै सिलिण्डर उत्पादन र विकास गर्न थालिएको नास्टले जनाएको छ । तयार पारिएको अक्सिजन सिलिण्डर ‘प्रेसर टेस्ट’मा सफल देखिएको खण्डमा नेपालका उद्योगहरुमा तत्कालै बनाउन सकिने बताइएको छ ।

‘यो डिजाइनले परीक्षण पश्चात नास्टबाट मान्यता प्राप्त गरेको खण्डमा नेपालका जुनसुकै उद्योगले निश्चित मापदण्डमा रहेर व्यावसायिक रुपमा अक्सिजन सिलिण्डर बनाउन सक्छन्,’ वैज्ञानिक ढकालले भने ।

उनका अनुसार चीन र भारतबाट आउने अक्सिजन सिलिण्डरमा प्रयोग भएकै धातु प्रयोग गरी त्यही स्वरुप तथा डिजाइनमा अक्सिजन सिलिण्डर विकास गरिएको छ ।

नास्टमा विकास भएको अक्सिजन सिलिण्डरको परीक्षण सफल भएको खण्डमा हाल कोरोना महामारीका कारण नेपालमा देखिएको विद्यमान अक्सिजन अभावमा ठूलो सहयोग पुग्नेछ ।

त्यसका साथै नाष्टको कोभिड कम्ब्याट मिसनको टिमले विभिन्न स्थानमा रहेका अक्सिजन प्लान्टको क्षमता बढाउने र त्यसको विकल्पमा गर्न सकिने कामको सन्दर्भमा समेत प्रयास गरिरहेको वैज्ञानिक ढकालले बताए ।

हाल चीन र भारतमा बनेका अक्सिजन सिलिण्डर नेपाल ल्याउने गरिएको छ । भारतमै अक्सिजन सिलिण्डरको चरम अभाव भइरहेको र चीनबाट अक्सिजन सिलिण्डर नेपाल ल्याउन धेरै समय र खर्च लाग्ने देखिएपछि नेपालमै यसको विकास गर्न थालिएको नास्टले जनाएको छ ।

Comment from facebook

Top