मदानेका जनतालाई घर नजिकै स्वास्थ्य सेवा दिन सामुदायिक स्वास्थ्य इकाई 

एकता न्यूज / बैशाख २२, २०७८ - बुधबार


गुल्मी – स्वास्थ्य चौकीबाट टाढा रहेका जनतालाई स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नदिन गुल्मीको मदाने गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ । 

गाउँपालिकाले वडा नं. १ मा घडेरी निपाने, वडा नं. ५ को पातलकटेरी र ७ को सुर्ज्याङ्गमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर जनतालाई सेवा सुविधा दिएको हो । 

पालिकाका सबै वडाहरुमा स्वास्थ्यचौकी भवन बनेको भएपनि केही गाउँहरू  स्वास्थ्यचौकीबाट धेरै टाढा भएकोले स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिनका लागि यसरी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज पन्थीले बताए ।  

उनका अनुसार पालिकाले ति स्थापनमा आफ्नै लगानीमा भवन निर्माण गरेको छ भने करारमा एकजना अहेव र एकजना कार्यालय सहयोगी नियुक्त गरेको छ । सामुदायिक स्वास्थ्य इकाईबाट उपचारात्मक सेवा, पोषण, मातृ सेवा, गर्भवती जाँच लगायतका आधारभूत स्वास्थ्यसेवा प्राप्त हुने पन्थीको भनाई छ । ‘यसरी स्वास्थ्य इकाई स्थापना भएपछि त्यहाँका जनताले समयमै उपचार पाउने र स्वास्थ्यमा सुधार आउने अपेक्षा हाम्रो छ’, उनले भने । 

 यसअघि सामान्य रुघाखोकी लाग्दा, झाडापखाला लाग्दा पनि उपचार नपाउने, उपचारका लागि खोला, बाढी, पहिरोको जोखिममा पनि डेढ दुईघण्टाको बाटो हिँडेर स्वास्थ्यचौकी पुग्नु पर्ने भएपनि स्वास्थ्य इकाई स्थापना भएपछि गाउँमै उपचार हुने भएकाेले निकै सजिलाे भएकाे भनभनेकाे सुर्ज्याङका निमबहादुर घर्तिले बताए ।

आफूहरुले सिमित स्रोत र साधनका बीचमा पनि जाँच र उपचार गरेको घडेरी निपाने सामुदायिक स्वास्थ्य इकाईका अहेव शेरबहादुर खड्काले बताए । 

सो गाउँपालिकाले ७ मध्ये ६ वटा वडामा बर्थिङ्ग सेन्टर स्थापना गरेर सुरक्षित प्रसुती सेवा प्रदान गर्दै आएको छ भने एउटा वडामा केहीदिनमै वर्थिङ् सेन्टर सञ्चालनको तयारीमा छ । 

त्यसपछि पालिका शून्य होम डेलिभरीको अवस्थामा पुग्ने स्वास्थ्य शाखा प्रमुख पन्थीको भनाई छ। यो वर्ष मदानेमा मातृ तथा शिशु मृत्युदर शून्य रहेको छ । गाउँपालिका मार्फत बाँझकटेरी, सिर्सेनी, अग्लुङ्ग, भनभने स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरिएको, एकीकृत विशेषज्ञ सेवावाट विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरि करिव ७ हजार  जनाभन्दा धेरैलाई निःशुल्क उपचार तथा औषधी वितरण गरेको पालिका अध्यक्ष दान बहादुर केसीले बताए ।

साथै आँखा, नाक, कान, घाँटी दाँतको शिविर सञ्चालन गरी १ सय २१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुका साथै १५ स ५० जनालाई निःशुल्क औषधी, ६ सय ५ जनालाई निःशुल्क चश्मा वितरण गरेको पालिकाको भनाई छ ।  मदानेले जटिल प्रकृतिका १ सय ५५ जना बिरामीलाई उपचारका लागि आर्थिक सहयोग समेत गरेको छ ।  

Comment from facebook

Top