दक्षिण एसियाकै दाेस्राे जलविद्युत : चन्द्र शमशेरको भाषण र पहिलो बिजुली बलेको घर

एकता न्यूज / चैत्र २४, २०७७ - मङ्लबार


काठमाडाैं । सामान्य ज्ञानमा दक्षिण एसियाकै दोस्रो जलविद्युत आयोजना कुन हो ? भनेर पढ्दा उत्तर आउँछ ‘फर्पिङ्गको चन्द्रज्योति विद्युत गृह’, जुन नेपालमा पर्छ । तर विश्व इतिहासको विरासत बोकेको उक्त जलविद्युत गृहबाट अहिले बिजुली उत्पादन हुँदैन । तर विद्युत उत्पादन गरेको पोखरी भने अहिले ललितपुरवासीकाे लागि खानेपानीको ट्याङ्कीको रुपमा उपयोग भइरहेको छ ।

एसिया महाद्वीपको पुरानो जलविद्युत आयोजना मध्येको एक चन्द्रज्योति विद्युत गृह कसरी निर्माण भएको थियो र उद्घाटनमा चन्द्रशमशेरले कस्तो भाषण गरेका थिए सबैलाई चासोको विषय बन्न सक्छ । त्यसैले हामी त्यसबारे जानकारी दिने प्रयास गरेका छौँ ।

कसरी निर्माण भएको थियो चन्द्रज्योति विद्युत गृह ?

श्री ३ चन्द्रशमशेर जबराको अग्रसरतामा वि.संं १९६७ सालमा उक्त विद्युत गृह स्थापना भएको हो । बेलायत घुम्न गएका तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर बेलायत घुम्न जाँदा त्यहाँ कानुनी रूपमै विद्युत् प्रसारण हुन थालेको तीन दशक पुगिसकेको थियो ।

त्यहाँको विजुलीको झिलिमिलीले लोभिएका चन्द्रशमशेरले बेलायतको सिको गरेर नेपालमा पनि बिजुली उत्पादनको पहल गरे । त्यसको लागि शेषनारायण र सेतिदेवी क्षेत्रबाट लगिएको पानी फर्पिङमा पोखरी बनाएर जम्मा गरियो । फर्पिङको पुछारमा पावर हाउस बनाउन स्थानीय फर्पिङबासीले आफ्नो ३२४ रोपनी जग्गा स्वतःस्फूर्त रूपमा दिए ।

पावरहाउसमा प्रयोग भएको प्रविधि बेलायत र फ्रान्सबाट ल्याइयो भने काम गर्नका लागि देशभरका सैनिक र कैदीको प्रयोग गरियो । त्यतिले मात्र नपुगेर नजिकै रहेका खोकनाबासीले पनि श्रमदान गरे । माथि पोखरीमा जम्मा गरेको पानी पाइपबाट लगेर पावरहाउसमा खसाली ५ सय किलो वाट विद्युत उत्पादन गरियो ।

नेपाली श्रमदान र विदेशी प्रविधि एवं ज्ञान मिलेर पहिलोपटक बिजुलीबत्ती बल्यो । पावरहाउस बनाउन त्यो बेला सात लाख पच्चीस हजार रुपैयाँ लागेको वर्तमान प्रमुख श्यामकृष्ण बस्नेतको भनाई छ । उनका अनुसार विसं १९६८ मा सो पावर हाउसले विद्युत् प्रसारण सुरु गरेको त्यो पावर हाउस दक्षिण एसियाकै  दोस्रो हो ।

विद्युत उत्पादन भएपछि राणाहरुले काठमाडौंको दरबारमा बाल्ने योजना थियो । पावरहाउसबाट ४० मिनेटको पैदल दुरीमा रहेको बागमती पारिको गाउँ खोकनाका ४ घरमा बिजुली बल्यो । कतिपयले देशमै नभएको प्रविधि एकैपटक उपयोग गर्दा दरबारमा अनिष्ट हुन्छ भन्ने ठानेर उनीहरूले जनताको घरमा परीक्षण गरेको बताउँछन्।

तर जे सुकै होस तर दक्षिण एसीयाको दोस्रो जलविद्युत आयोजनाबाट उत्पादन भएको बिजुली पहिलोपटक शासकका घरमा होइन, जनताका घरमा बल्यो । खोकनावासी मदनकृष्ण डंगोल आफना हजुरबुवा सिद्धिलाल डंगोलको पालामा खोकनाका पाँचछवटा घरमा बत्ती जोडिएको बताउँछन् ।

पहिलाे पटक बिजुली बलेकाे घर । 

परिक्षण भएपछि १९६८ साल जेठ ९ गते राजा पृथ्वीविक्रम शाहले टुँडिखेलमा ‘स्वीच अन’ गरेर बत्ति बाल्दै चन्द्रज्योति विद्युत गृहको उद्घाटन गरेका थिए ।

कस्तो छ अहिलेको अबस्था :
फर्पिङ्गबाट अहिले बिजुली निकालिँदैन बरु पानी जम्मा गरिएको पोखरीमा पानी संकलन गरि ललितपुरका केही जनतालाई खानेपानीका रुपमा वितरण गरिएको छ । तलपट्टी रहेको पावरहाउसमा अझै पनि पुराना दुईवटा मेसिन छन् । श्री ३ जुद्धशमशेरको पालामा त्यहाँबाट पिउनका लागि पानी निकाल्न थालेपछि जलस्रोत अभावले विद्युत गृह विस्तारै बेकामे बन्दै गयो । २०३८ सालमा त पूरै बन्द भएको बस्नेत बताउँछन् ।

बिजुली उत्पादन बन्द भए पनि फर्पिङ पावर हाउस भने इतिहासको चिनारी बनेर बसेको छ । ‘यो मुलुकको धरोहर हो, विश्वलाई यसबारे बताउनुपर्छ भनेर जोगाएका छौं । पहिला बन्द थियो अहिले हेर्न आउनेका लागि खोल्ने गरेका छौं’, बस्नेत भन्छन् । फर्पिङ पावर हाउस होस् वा खोकनाको बत्ती बलेको पहिलो घर अहिलेपनि छन्।

उदघाटनमा के भनेका थिए प्रधानमन्त्री चन्द्रशमशेर ?
चन्द्रज्योति विद्युत गृहको शुभारम्भका अवसरमा श्री ३ चन्द्रले टुँडिखेलमा लामो भाषण गरेका थिए । उनको भाषण ९स्पीच० जेठ २३ गतेको ुगोर्खापत्रु साप्ताहिकमा प्रकाशित भएको थियो । जुन यसप्रकार छ ।

– “ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिल्न सक्ने फाइदा हामीले उठाउन सकेनौं भने त्यसभन्दा अपसोचको कुरा के छ ?

– विशेषगरी आफ्नै मुलुकका मानिसहरुका मिहेनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्व दीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटि छैन् भनन्या कुरा मन्मा विचार गरि हेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

“ईश्वरका अनुग्रहले आज हाम्रो मुलुकको बिजुलीको कारखाना प्रकाश गर्न पाउने भयो । नेपालमा यस किसिमको काम्मा यो पहिला कारखाना हो । यस्तो यो कारखानासँग म सँग राखन पाउनाको (मोसर) मलाई मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान ञाहा गर्न सकिन्न ।

यो कारखाना हाम्रा श्री ५ सर्कारका बाहुलीबाट ऐल्हे खोलि बक्सने छ । यसबाट हाम्रा मुलुक्को उद्योग उतसाहमा नञाँ युग हुन गया झै उन्नति गराउने होला भनन्या आशा छ । ठूला ठूला कामहरु पैल्हे उठान गर्दा नबिग्रि भरसक राम्रो गरि चलने हिसाबले गर्नुपर्ने हुनाले यो बिजुलीको धेरै (….) पनि हाललाई खाली हाम्रो राजधानी शहरमा बत्ति राखना निमित्त मात्र काम लिन सकेका छौं । सडकको बत्तिको काम बाहेक यो बिजुली विना धुवाँ गन्धले कोठा गरम् गराउने काममा ल्याँउ भने पनि हुन्छ ।

नेपाल खाल्डामा सहजसंग प्रशस्त दाउरा गोल पाँइदैन । बिजुलीले गोल दाउराको काम दिने भयाकोले तेसबाट पनि सुविस्ता हुनछ । उद्योगको काम्मा उन्नति गर्ने ठाउँ हिसाब छैन । तेस्तो उद्योगका कामहरुमा यत्नसाथ एकनाश सँग मन लगाइ काम गरेदेखि बलियो दिलसायको दृढउतसाहले पार्लागन (पार लगाउन) नसकने काम केहि छैन् ।

ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिलन सक्ने फाइदा हामीले उठाउन सकेनौं भने तेसभन्दा अपसोचको कुरा के छ ? एतिका खर्च र मेहनत लगाई यो बिजुलीको कारखाना तयार भयाको छ एसैबाट ल्याइयाको बिजुलीका जोडबाट काम लि हामिले फाइदा उठाउन योग्य छ । अनी मिस्टर प्याएटेले खुलसा बयान गरे झैं यो बिजुलीको जोड लगाइ चिजवस्तु बनाउने काम कारखाना र यस उद्योगमा लाउन कोसिस गर्दै गर्‌या हाम्रा मानिसबाट पनि यस बाट भयाको काम हुन नसकने केहि छैन् । ऐल्हे यो उतसवको बखतको जोष्मा मात्र यो कुरा हामिले मन्मा लिने होइन ।

एस्मा यौटा कुरा के छ भने सबै तरहबाट उन्नति हुने कुराको विचार गर्दा हाम्रो शहर सफाइ तर्फमा अरु धेरै गै काम् वाकि रहेको देखिन्छ । उन्नतिको मुख (मुख्य) कुरा यौटा सफाइको काम पनि हो । अपसोच छ कि हाम्रा राजधानी शहर ठाँउ ठाँउमा साह्रै मैला फोहर छ । हाम्रो ञाहाँ पानीको कल राखी पानी ल्यायादेखि पानीबाट उत्पन्न हुने किसिमको रोगहरु विशेष गरि हट्तै गयाको छ । तापनि सफाइतर्फको उन्नतितर्फ हामीले सदा सर्वदा बहुतै ध्यान दिनुपर्दछ । एस्मा सरकारलाई दुनिञाहरुबाट हारग्वाहार हुनु अवश्य पर्दछ । सरकारबाट दुनिञालाई शहर सफाईको कामलाई केहि दस्तुर लगायाको छैन् । तेसो हुनाले मुलुक्को बढिया हुने काम्मा सरकारलाई हारग्वाहार गर्नुपर्छ भनि दुनिञाले अघि नसरि यो काम राम्रो गरि हुनसक्ने देखिदैन् ।

अब यो बिजुलीको विषयको कुरामा म यो पनि भन्दछु कि, यो उठान भयाको काम राम्रो गरि तय भयेको हुनाले हामिलाई आनन्द गरायो । कोनैकाममा पनि उठानको काम राम्रा गरी तय हुनालाई उकालो पर्नेहुन्छ । उठानमा परि आउनले कठिन एकपल्ट नाघिसकेपछि तेष्किसिमको काम आफसे आफ बढ्दै जानेगर्छ । विशेषगरि आफ्नै मुलुकका मानिसहरुका मेहनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्वदीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटिछैन् भनन्या कुरा मन्मा विचार गरिहेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

राम्रो गरि दस्तुर माफिक काम भै यो कारखाना चलायादेखि तेसबाट हुने आम्दानीले खर्च ढाकि दिन् परदिन् हाम्रा उद्योगका काम कारखानाहरु बढ्दै जाने देखिनाले लागेको भन्दा बढि सन्तोष अरु के होला ? यो काम्मा बहुतै मेहनत गरि काम गर्ने युरोपियन हिन्दुस्थानी र नेपालीहरु सबैले यो कारखाना कोनै सुरतले पनि चलाई छाडोला भनन्या हिकमत लि काम गरेका हुनाले तिनिहरुलाई धन्यवाद छ । बिच बिचमा गाह्रो र दैवीपरि आयेथ्यो तापनि आफ्नु अभिभाराको काम् तय गर्नालाई मेहनत गर्न बाँकी नराखी काम गर्ने मुख्य इलेक्ट्रिक्याल ईन्जिनियर मिष्टर वार्नाउ प्याउटे (Barnau Puwante) लाई खुसी साथ अन्तष्कर्ण देखि म धन्यवाद् गर्छु ।

इनको ठूलो मेहनत र एकनासको भावना साथको काम गराई तारिफ लायेकको छ । ठुला नामि जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले (Mr Linzale) पनि बहुतै उमदा तवरसँग काम गरेका छन् इनलाई पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तन्मनदि काम् गरेको सुन्दा मलाई बहुतै सन्तोष लाग्यो । तिनिहरुको कामदेखि म खुसी छु । जो इन्जिनियरले तिनीहरुको लोसि फारम गरे तेस्को विचार तिनिहरुका आफ्ना आफ्ना अड्डाखानाद्वारा गरिने छ । तिनिहरुकै सगोल मेहनतले आज यो काम् सफल भयो । यो काम् सफल भयाकोमा जनरल पद्मसमसेर जंगबहादुर राणा लाई म धन्यवाद दिन्छु ।

तिनिमाथि मैले जस्तो भर्परि काम लायाको थिञा सो बमोजिम सबै काम पुरा हिसाबसँग पार लाया । यो काम शुरु देखिनै भाई कम्यान्डर इनचीफले गरेका मदतको मैले बहुतै कदर मानेको छु । उनिलाई पनि मेरो अन्तस्कर्ण देखिको बहुतै बहुत धन्यवाद् छ । यो इस्पीच खतम गर्नु अगाडि यो बिजुलीको कामले हामीलाई हो शिक्षा दिन्छ तेसबारेमा म केहि भन्न चाहन्छु । हिक्मतको कामहरु प्रचार भैरहेको आजकाल को जमानामा सो हिक्मतको महिमाको शिरोमणि झैं भयाका बिजुलीले हालको सभ्यताको बाटो राम्रो बनाइ चाँडो उन्नति गराउँदै लगेको छ ।

बिजुलीका प्रकाश नहुँदैका बखतको र सो प्रकाश भया पछिका बखतको बिचमा काहासम्मको अन्धाधुन्धको फरक देखिन्छ । नेपाल्ले पनि अब बिजुली आफ्ना दुनियाँमा प्रकाश भयाको देखि उन्नतिको यस्तो मुख्यकारण हो भनन्या शिक्षा बिर्सने छैन भनन्या आशा लागेको छ । आजकाल नभैनहुने जरुरी समझियाको हिकमतको विद्या जाननुपर्छ भनन्या तिर पनि मन बढ्दै जाला भनन्या हामीले आशा गर्नु होइन सक्ने कुरा केहि छैन् ।

यो बिजुली बत्तिको राम्रो उज्यालो मुनि बसीरहँदा जस्तो त्यो बलिरहेको बत्ति निर्मल सफा छ उस्तै आफ्नु चालचलन पनि वेदागको गराउनुपर्छ भनन्या र जुन जोरबाट सो बत्ति बलेको छ त्यो जोरलाई होइसकेसम्म काम्माल्याई फाइदा उठाउनुपर्छ भनन्या दृढउत्साह पनि मानिसहरुले लिनन् भनन्या आशा पनि लागेको छ । रातको अन्धकार दुरभै जानाले हाम्रो मन्को अन्धकार पनि दुर भैगै नञा ज्ञान पैदा भै अज्ञानसबै पन्छाइ हामीले गरे कतिसम्म हुनसक्ने रहेछ, कति कुरा हामीले गर्नुपर्छ भनन्या अन्तष्कर्णले देखदै जानेछन् भनन्या पनि आशा छ ।

अब म कर्णेल म्यानर्सइसमिय साहेब र अनलेडि भलादमिहरुले यस मौकामा मेहरमानि साथ आइ शोभायमान गर्नु भयाको हुनाले म अन्तष्कर्ण देखि सुकर्म जारि गर्दछु । सावधान साथ यो मैले बोलेका कुराहरु एकचित्तले सुनिबक्स्याको मा श्री ५ सर्कार महाराहाधिराज का खिदमत्मा मेरो आदाव छ । अरु सबैलाई पनि मेरो धन्यवाद छ । ईश्वरसँग मेरो यहि प्रार्थना छ कि, यो हाम्रो काम्लाई कल्ल्याण गरुन ।”

 

Comment from facebook

Top