मालिकामा चियापानमै सकियो २४ लाख, तेलमा पनि २४ लाख खर्च

एकता न्यूज / चैत्र २३, २०७७ - सोमवार


गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका कर्मचारीले चियापानमा मात्रै २४ लख ६६ हजार भन्दा धेरै खर्च गरेको फेला परेको छ । गाउँपालिकाले अघिल्लाे आर्थिक वर्षमा विविध खर्च शिर्षक अन्तर्गत चीया पान र अतिथि सत्कारमा २४ लाख ६६ हजार ६ सय ६ रुपैयाँ खर्च गरेको सार्वजनिक भएको छ ।

त्यस्तै गाउँपालिकाले इन्धन र गाडीभाडामा २४ लाख खर्च गरेको छ । गाउँपालिकामा आफ्नै २ वटा गाडी र २६ वटा सरकारी मोटरसाइकल छन् । ति साधनमा इन्धन राख्न र भाडाको गाडीको लागि २४ लाख २ हजार १ सय २६ रुपैयाँ खर्च गरेको खर्च विवरणमा उल्लेख छ ।

त्यसमध्ये इन्धनमा मात्रै १४ लाख १५ हजार ६२६ खर्च गरिएको छ । गाउँपालिकाले कर्मचारीलाई प्रति महिना प्रतिव्यक्ति १० लिटर, ४ वटा प्रहरी चौकीलाई प्रत्येक महिना प्रत्येक चौकीलाई २० लिटरका दरले, वडा अध्यक्षलाई १० लिटर र जेनेरेटरलाई लगवुक समेत राखी खर्च लेखेको जानकारी प्राप्त भएको छ । वडा कार्यालयले मासिक ३ हजार इन्धन खर्च गर्ने गरेका छन् ।

मापदण्ड नबनाई यसरी मनपरी खर्च गर्नु गलत रहेको महालेखा परिक्षकको कार्यालयले जनाको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी भने गाउँपालिकाले डोजर भाडामा लिएर चलाएको र कार्यालयमा विद्युत नभएको कारण २४ सै घण्टा जेनेरेटर चलाउनुपर्ने भएकोले इन्धन खर्च धेरै आएको बताए ।  ‘हामीकहाँ केन्द्रीय विद्युुत छैन, त्यसैले दिनभरी जेनेरेटर चलाउँदा एक घण्टामा ७ लिटर तेल खर्च हुन्छ, अर्को कुरा डोजर भाडामा लिएर चलाएका छौँ, त्यसको पनि १ घण्टामा ६/७ लिटर तेल खान्छ’, उनले भने, ‘कतिपय कुराहरु व्यवहारिकता एकातिर सैद्धान्तिक कुरा अर्कोतिर हुँदो रहेछ, त्यसैले यसमा हाम्रो गलत नियत छैन ।’

यता महालेखाले खर्च रकम सम्वन्धमा पालिकाले मापदण्ड वनाएको पाईएन, खर्च रकम नियन्त्रण गर्न आवश्यक मापदण्ड बनाई यस्ता किसिमका खर्च नियन्त्रण गर्नुप पर्ने भनेकाे छ ।  ‘यस सम्वन्धमा छलफल गर्दाप्रहरी चौकीको लागि वेग्लै कार्यालय भएको र ती कार्यालयमा छुट्टै वजेट व्यवस्था भएतापनि गस्ती गर्न नपुग भएको भनी इन्धन उपलब्ध गराएको देखियो,’ महालेखा परिक्षको परिक्षको प्रतिवेदनमा भनिएकाे छ, ‘छुट्टै वजेट व्यवस्था भएको कार्यालयलाई इन्धन उपलब्ध गराउने कार्य उचित होइन । यसमा नियन्त्रण हुनुपर्दछ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार सिमलटारी, अर्खाबाङ्ग, इश्मा र पौँदी अमराई प्रहरी चौकीलाई इन्धन दिने गरिएको छ । भण्डारीले आफ्नो पालिका भित्रका २ चौकीलाई मोटरसाइकल, इन्धन र मर्मत खर्च समेत दिइने र गाउँपालिका बाहिरका चौकीलाई इन्धन मात्र दिइने गरको बताए । सिमलटारी, अर्खाबाङ्ग मालिका गाउँपालिकाभित्र पर्छन भने इश्मा प्रहरीचौकी इश्मा गाउँपालिका र पौंदी अमराई प्रहरी चौकी मुसिकोट नगरपालिकामा पर्छन् । पालिकाले सुरक्षाका लागि प्रहरीलाइ इन्धन उपलब्ध गराइने गरेकाे बताए ।

यसबाहेक गाउँपालिकाले विभिन्न शिर्षकमा १ करोड भन्दा धेरै खर्च गरेको छ । जसमध्ये नगरसभा बैठकमा मात्रै १९ लाख ६१ हजार २७०, संचारमा ५ लाख ४६ हजार ९६ छ । गाउँपालिकाले दैनिक तथा भत्ता खर्च तथा अनुगमनबापत मात्रै २६ लाख ६४ हजार ६६६ रुपैयाँ खर्च गरेको छ । त्यस्तै घरभाडामा ४ लाख ९८ हजार रुपैयाँ खर्च गरेको गाउँपालिकाको आयव्यय विवरणमा उल्लेख छ ।

गाउँपालिकाले भने सबै खर्च जायज भएको भन्दै स्थानीय तहमा सबै कुरा कानूनको हु बहु कार्यान्वयन गर्नेभन्दा पनि कतिपय कुरामा व्यवहारिकता पनि हेर्नुपर्ने तर्क राख्छ । ‘जिल्ला प्रशासन जस्तो गरेर कानूनकै दफा अनुसार चलाउने हो भने त स्थानीय तह एकहप्ता पनि चल्दैन’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारी भन्छन्, ‘कतिपय कुराहरु व्यवहारिकता एकातिर सैद्धान्तिक कुरा अर्कोतिर हुँदो रहेछ, त्यसैले यसमा हाम्रो गलत नियत छैन ।’

 

 

Comment from facebook

Top