जुम्ला र बाँकेमा आगलागीबाट १५५ घर जले

एकता न्यूज / चैत्र २२, २०७७ - आइतवार


काठमाडाैं । बाँके र जुम्लामा बस्तीमा लागेको आगोका कारण १ सय ५५ घर जलेर नष्ट भएका छन् । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँ र जुम्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा लागेको आगोले १ सय ५५ घर जलेका हुन् ।

बाँकेमा शनिबार अपराह्न साढे तीन बजेतिर स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो । गएराति १ बजे सम्म लागेको आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । ‘मुचुल्का उठाउन त बाँकी छ तर आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरेका छौं,’ उनले भने । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो ।

त्यस्तै जुम्लामा गएराति साढे नौ बजे आगलागी भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले बताए ।

तर प्रहरी भने बिहान सात बजे मात्र घटनास्थल पुगेको छ । ‘सदरमुकाम भन्दा धेरै टाढा रहेको र धेरै उचाईमा रहेका कारण प्रहरी अहिले विहान सात बजे घटना स्थलमा पुगेको छ । त्यहाँ पुग्ने क्रममा एक जना प्रहरीलाई लेक लागेको अवस्था छ,’ उनले भने ।

त्यहाँ गोठ मात्रै भएका कारण मानवीय क्षति भनएको प्रहरीले जाएको छ । तर अन्य क्षति के–के भएको छ भन्ने बारेमा केहि समयपछि विस्तृत विवरण आउने उनले बताए ।

उनका अनुसार अहिले पनि तीन गोठमा लागेको आगो लागिरहेकोले नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीस जनाको टोलीले नियन्त्रणमा लिने प्रयासमा छ ।

Comment from facebook

Top