एकता न्यूज / चैत्र २२, २०७७ - आइतवार
काँकडभिट्टा — दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढारेपनि मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काकाे भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ ।
गाउँकाे बीचमा खाेलिएकाे पत्थर काेइला प्रसाेधन कारखानाले गाउँभरी यस्तै सास्ती छ । पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा पर्ने ढाटबाट उत्तरतर्फ पत्थर कोइलाको ठूलो डिपो र प्रशोधन कारखानाले स्थानीय हैरान छन् । जब कारखानाको मेसिन चल्न थाल्छ, तब मेसिनबाट निस्किने धूवाँ र कोइलाका ससाना कणलाई हावाले स्थानीय बासिन्दाका घरघर पुर्याउँछ ।
‘अहिले बढारेर बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षौंदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ ।
कारखाना सञ्चालन गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । जसका लागि गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थासँग वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव लिनुपर्छ । तर कारखाना सञ्चालनअघि यी कुनै प्रक्रिया नपुर्याइएको स्थानीयको भनाइ छ ।
कोइला कारखाना आसपासका करिब एक सय घर प्रत्यक्ष र करिब तीन सय घर अप्रत्यक्ष रूपमा प्रदूषणको मारमा छन् । सम्बद्ध निकाय भने वर्षौंदेखि मौन छ । ‘गाउँको बीचमा कारखाना राखिएको छ,’ स्थानीय टिकेन्द्र खनालले भने, ‘कारखाना हटाउन पटक–पटक अनुरोध गरियो, तर चासै दिएनन् ।’ खनाल अध्यक्ष रहेको सयपत्री टोल विकास संस्थाले २०६९ मंसिर ८ गते कारखाना हटाउन मेचीनगर नगरपालिकामा उजुरी गरेको थियो । प्रदूषण प्रभावित स्थानीयले निर्वाचित जनप्रतिनिधि आएलगत्तै पुनः ध्यानाकर्षण गराए, लिखित र मौखिक रूपमै । तर आश्वासनबाहेक केही पाएनन् ।
एक पटक वडाध्यक्ष सुदय पनेरुलाई स्थलगत अवलोकन गराएरै जानकारी गराइएको थियो । उनले पनि आश्वासन मात्रै बाँडे । ‘आठ वर्षदेखिको हाम्रो प्रयत्न खेर गयो,’ खनालले भने, ‘जनप्रतिनिधिदेखि समाजका अगुवाहरूकै संरक्षणका कारण कारखाना बन्द हुन नसक्दा हामी प्रदूषणको चपेटामा बाँच्न बाध्य छौं ।’ मेयर विमल आचार्यले भने कारखानाका कारण प्रदूषण बढेको भनेर दुई–चार जना मान्छेले गुनासो गरेको बताउँदै कारखाना नजिकका केही घरलाई मात्रै प्रभाव पारे पनि सिंगो गाउँलाई असर नपारेको दाबी गरे ।
रजनीश करनानी नाम गरेका भारतीय व्यापारीको यो कारखानामा भारतको असमबाट आयातित पत्थर कोइला र भुटानबाट आयातित जिप्सम ग्रेडिङ गरिन्छ । कारखानामा उनले ढुंगा टुक्र्याउन प्रयोग गरिने क्रसर उद्योगको जस्तो ठूलो भट्टी नै चलाएका छन्– मध्य गाउँमा । यहाँ आउनुअघि उनको यस्तै कारखाना बिर्तामोड नगरपालिकाको चारपाने क्षेत्रमा थियो । स्थानीयले तीव्र विरोध गरेपछि उनले कारखाना हटाए । र, यता सारे । कारखाना सुरु गर्नुअघि उनले समाजका ‘गन्नेमान्ने’ लाई हातमा लिएका थिए ।
सुरुमा उनले धर्मकाँटा सञ्चालन गरेर बस्ने भनेका थिए । तर वर्ष दिन पनि नबित्दै पत्थर कोइला र जिप्समको प्रशोधन कारखाना चलाउन थाले । ‘उनले जनप्रतिनिधिदेखि सामाजिक हर्ताकर्तालाई स्लिपिङ पार्टनर बनाएका छन्,’ कारखानामा काम गरेर छाडेका एक श्रमिकले भने, ‘ठूलाबडाको संरक्षण छ ।’ कारखानामा धेरैजसो भारतीय श्रमिक कार्यरत छन् । केही स्थानीय श्रमिक पनि छन् । ‘कारखानामा जागिर पाएका स्थानीय प्रदूषणको खुलेर विरोध गर्न सक्दैनन्,’ स्थानीय हिरादेवी खड्काले भनिन्, ‘त्यही कारण एकीकृत रूपमा विरोध हुन पाएको छैन ।’ प्रदूषणका विषयमा कारखाना सञ्चालक रजनीशसँग बुझ्न खोजे पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
धुलाबारी माविका पूर्वप्रधानाध्यापक मोहन खड्का गत वर्ष लकडाउनकै बेला गम्भीर बिरामी परे । ८६ वर्षका खड्काले चार महिना त अस्पतालमै बिताए । एक महिना जति भेन्टिलेटरमै बसे । बल्लतल्ल निको भएर घर फर्किएका खड्का बाहिर निस्किनै सकेका छैनन् । घरभित्र बस्दा पनि मास्क लगाउँछन् । कोइलाको धूलो हावाले उडाएर घरभित्रै ल्याइपुर्याउँछ । त्यही भएर खड्काको सिंगो परिवार घरभित्रै पनि अनिवार्य मास्क लगाउन बाध्य छ । ‘कारखानाको धूलोले घरबाहिर निस्किएर सास फेर्न सकेको छैन,’ खड्काले सुनाए, ‘म जस्ता बूढापाका र बालबच्चालाई सबभन्दा बढी असर पुर्याएको छ ।’
प्रदूषणका कारण धेरैजसो स्थानीयलाई दम, खोकी, फोक्सोसम्बन्धी रोग, आँखा पाक्ने आदि गम्भीर समस्या देखिएका छन् । कारखानाको धूलो श्वासप्रश्वासमार्फत सोझै शरीरमा छिर्ने भएकाले स्थानीय बिरामी बन्ने क्रम पनि सुरु भएको पाइएको छ । ‘९ वर्षकी नातिनी र ५ वर्षका नाति १५/२५ दिनमा बिरामी भइराख्छन्,’ खड्काले भने । मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले पत्थर कोइला र जिप्समका रसायनयुक्त स–साना कण सामान्य धूलोभन्दा बढी घातक हुने बताए ।
‘धूलो र धूवाँले ब्रोङ्काइटिस, निमोनिया, स्वरयन्त्रसम्बन्धी समस्या, दम, आँखा दुखेर सुन्निने र एलर्जीसम्बन्धी रोगसमेत निम्तिन सक्छ,’ उनले भने । प्रदूषणले मान्छेसँगै बोटबिरुवालाई समेत प्रत्यक्ष असर पुर्याएको छ । कोइला प्रशोधन कारखाना नजिकै स्थानीय टंक खनालको लिची र कागती बगान छ । तर बगान मासिने अवस्थामा पुगेको छ । ‘कोइलाको धूलो बोटबिरुवामा टाँसिँदा परागसेचन हुनै पाउँदो रहेनछ,’ खनाल भन्छन्, ‘बगानै मासिने अवस्थामा पुगेको छ ।’ घरमा सागपात रोपेर खान पनि गाह्रो भइरहेको उनको भनाइ छ । ‘साग रोप्यो, पात धूलोले ढपक्कै पार्छ,’ खनाल सोध्छन्, ‘यो समस्या कसलाई सुनाउने ? हाम्रो समस्या सुन्ने निकाय कहाँ छ ?’
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ । ईसेवाले २६५ कर्मचारीको माग गरेको छ ।...
एकता न्यूज | चैत्र ३१, २०७७ - मङ्लबार
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ वर्षका लाग नयाँ...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...
एकता न्यूज | चैत्र ३०, २०७७ - सोमवार
काठमाडाैं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडौं । आवस्यक प्राविधीक जनशक्ति नहुँदा करिब १ अर्ब...
एकता न्यूज | चैत्र २८, २०७७ - शनिबार
काठमाडाैं । कृषि विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै...
एकता न्यूज | चैत्र २६, २०७७ - बिहिबार
काठमाडाैं । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार...
एकता न्यूज | चैत्र २५, २०७७ - बुधबार
काठमाडाैं । नेपालमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण...
© Copyright 2021 ekatanews.com All Rights Reserved.
Developed & maintained by AppBasis
Top