काठमाडौं छिर्न कोरोना परिक्षण अनिवार्य

एकता न्यूज / चैत्र १८, २०७७ - बुधबार


काठमाडाैं । कोरोना महामारीको खतरा बढेको भन्दै सरकारले काठमाडौं उपत्यका काठमाडौं उपत्यका प्रवेश गर्नेको एन्टीजेन परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा बेलाबेलामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

सरकारले सबै जिल्ला प्रशासनलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्न ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ । बैठकको निर्णय सुनाउँदै मन्त्रालयका प्रवक्ता गौतमले संघीय अस्पताल, प्रादेशिक अस्पताल तथा सबै आधारभूत अस्पतलामा कोभिड–१९ को उपचारको व्यवस्थापन गर्ने र एचएमआईएसमा जानकारी गराउनुपर्ने निर्णय भएको बताए ।

एचएमआइएसमा जानकारी भएअनुसार नै मन्त्रालयले उक्त अस्पताललाई शोधभर्ना गर्न सक्ने उनले बताए । साथै कोभिड १९ परीक्षण गर्ने सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाएको रकमको प्रदेशले प्रतिवेदन पठाउन र अपुग रकमको माग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अपुग रकम निकासा सम्बन्धमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालालई पत्राचार गर्ने बैठकले निर्णय गरेको छ । साथै सबै पालिकाहरुमा जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्टिजेन परीक्षण बढाउने कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउने निर्णय बैठकको निर्णय छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।

ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। ‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ पराजुलीले भने।

परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ। नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्। लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन्।

Comment from facebook

Top