अन्तरवार्ता नै नदिएको व्यक्ति जागिर खानेको सूचीमा, अख्तियार पनि माैन

एकता न्यूज / चैत्र ११, २०७७ - बुधबार


जनकपुरधाम । परीक्षाको चरण मध्ये अन्तरवार्ता र प्रयोगात्मक परीक्षाका लागि योग्य नठानिएको र सहभागी नभएकाे व्यक्तिको नाम नाम जागिर खानेमा सिफारिस भएपछि  राष्ट्रिय जनगणनाको गणक छनौट कार्यमा विवाद उत्पन्न भएको छ । 

करार सेवामा गणकको लागि माग गरिएको आवेदनमा धनुषाको मिथिलाविहारी नगरपालिकाले अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको लागि नै योग्य नठानेको व्यक्तिलाई जागिर खानेको सूचीमा सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो । 

नगरपालिकाले गएको पुस १० गते करार सेवामा गणक पदका लागि आवेदन आह्वान गरेकोमा आवेदन दिएकाहरू मध्येको माघ २३ गते अन्तरवार्ताका लागि ७ जनाको नाम प्रकाशन गरियो । ति सात जनाको सूचीमा प्रतिमा मण्डलको नाम थिएन । छनौट नभएपछि उनी अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा सहभागि हुने कुरै भएन । 

अन्तर्वार्ताको एक सातापछि ८ जनालाई उत्तीर्ण भएको नामावली प्रकाशन गरियो । जसमध्ये ५ जना जागिरका लागि सिफारिस र ३ जनालाई वैकल्पिक उम्मेदवारको नाम प्रकाशन गरिएको छ । जसमा अन्तर्वार्ता नै नदिएका प्रतिमा मण्डलको नाम सिफारिस सूचीमा परेपछि विवाद उत्‍पन्‍न भएको वैकल्पिक उम्मेदवार सत्यम कुमार झाले बताए । उत्तीर्ण भएकाहरू अहिले तालिम प्रक्रियामा रहेका छन । 

उनले आर्थिक लेनदेन र राजनीतिक आस्थाका आधारमा अन्तरवार्ताका लागि छनौट नै भएका उम्मेदवारलाई उत्तीर्ण गरेको आरोप लगाएका छन् । झाले भने ‘नगरपालिकाकाे गल्ती विरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा निवेदन दर्ता गराए पनि उनीहरु मौन छन् ।’, निवेदन दिएको बेला प्रमुख जिल्ला अधिकारीले घटनाबारे अनुसन्धान गर्छौ तर अहिले आएर स्थानीय प्रमुख आफूभन्दा माथि रहेकाले केही गर्न नसक्ने भनी अख्तियारमा जान भनी बेवास्ता गर्दै आएको आरोप लगाए ।

जिल्ला समन्वय समिति र अख्तियारको बर्दिबास कार्यालय समेतले नगरपालिकाका जनप्रतिनिधिसँग मिलोमतो हालसम्म कुनै पहल नगरेको आरोप लगाए । नगरपालिकाले आवेदनको माग, अन्तर्वार्ता र सिफारिस भएका उम्मेदवारबारे सूचना आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक नगरी सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा राखेका थिए । तर विवाद उत्‍पन्‍न भएपछि नगरपालिकाले त्यसलाई सच्याएर अन्तर्वार्ता नामावलीमा प्रतिमाको नाम थप गरी ८ जना बनाएका छन् ।

घटनाबारे नगरपालिकाका प्रशासकीय अधिकृत विरेन्द्र लाल कर्णले भने ‘प्राविधिक त्रुटिले गर्दा ७ जनाको नाम मात्रै प्रकाशन गर्‍यो । आफूलाई थाहा भएपछि तुरुन्त सच्याएर ८ जना गरेका छौँ’, उनले भने ‘ हाम्रो कागजात एक दुरुस्त छ, यदि हामी गलत गरेका छौँ भने आरोप लगाउने व्यक्ति जिल्ला प्रशासन कार्यालय, जिसस र अख्तियार समेत पुगेका छन् । सम्बन्धित निकायबाट अनुसन्धान भएपछि नगरपालिकाबाट स्पष्टीकरण सहित जवाफ पठाइसकेका छौँ । नगरपालिकाको गल्‍ती ठहरेमा आफू कारवाही भोग्‍न तयार छु ।ु

नगरपालिकाको सूचना वेभसाइटमा प्रकाशन नगरी सामाजिक सञ्जालमा प्रकाशन गर्नुको कारण के भन्ने प्रसंगमा अधिकृत कर्णले भने ुआईटी अफिसर अभावले गर्दा वेभसाइटमा अपडेट नगरी सामाजिक सञ्जालमा राख्‍यौँ ।ु

 

Comment from facebook

Top