खोक्रो राष्ट्रवादी ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी जनताले चुने वाइडनलाई ४६ औं राष्ट्रपति

एकता न्यूज / कार्तिक २२, २०७७ - शनिबार


बहालवाला राष्ट्रपतिलाई मतदानबाट अस्विकृत गर्दै अमेरिकी जनताले जो बाइडनलाई ४६ औं राष्ट्रपति सुनिश्चित गरेका छन् ।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति सुनिश्चित भएका हुन् ।

बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो। यसपटक अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सन् १९०० यता सबैभन्दा बढी मतदान भएको थियो ।

बाइडनले राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएपनि उनका प्रतिस्पर्धी बहालवाला राष्ट्रपति ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको कारण उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

उनले पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुने बीबीसीले प्रक्षेपण गरेको छ । जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

अमेरिकी जनताले खोक्रो राष्ट्रवादको नारा अलापेका डोनल्ड ट्रम्पलाई दोश्रो कार्यकालका लागि गरेको चुनावी प्रतिस्पर्धामा हराइदिएका छन् ।

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ।

मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।

उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि ‘यो निर्वाचन अन्त्य नभएको’ विज्ञप्ति निकालिएको छ।

अमेरिकीभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला लडिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन्।

बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन्।

बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

Comment from facebook

Top