बदलिँदै पिएचडी बाबाको जिवनशैली (भिडियो सहित)

एकता न्यूज / मंसिर १, २०७६ - आइतवार


पिएचडी बाबा भनेर भाइरल बनेका गुल्मी चन्द्रकोटका रोमाकान्त भण्डारीको जीवनशैली वदलिँदै छ । सानैदेखि अध्यनशिल र मेहनती स्वभावका भण्डारी पछि व्यवसायमा असफलताको कारण मानसिक स्थिती गुमाउन पुगेका हुन् । हाल उनको काठमाडौको ग्रिन सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

करिब २ महिना पहिले संचारकर्मी मोहन बस्नेत, भुवन भुषाल तथा कमल खत्री लगायतको टिमले गुल्मीको एक जंजलमा उनलाई फेला पारे । हेर्दा सन्यासी जस्तो देखिने, जिङ्ग्रिङ्ग ठुलो कपाल तथा फाटेका लुगा लगाएका भण्डारीसँग उनीहरुको कुराकानी भयो । यही कुराकानी नै भण्डारीको जीवनमा सुधारको एउटा टर्निङ पोइन्ट बन्न थाल्यो । कुराकानीमा उनले आफुलाई पिएचडी गरेको भन्थे । ज्ञानगुनका कुरा गर्थे । बाटामा भेटिएका कागजहरुलाई पैसा भनेर गोजिमा राखेर हिँड्थे । राम्रोसँग खान लाउन पाएका थिएनन् । भनौँ उनी एक मानसिक रोगी थिए ।

उनका छिमेकीसँग कुरा गर्दा थाहा भयो । उनी पहिले शिक्षित तथा विद्धान, राजनीतिमा रुचि राख्ने थिए । छिमेकीका अनुसार उनले विज्ञान विषय पढेका थिए । यसका साथै अन्य धार्मिक पुस्तक, राजनीतिक वा ऐतिहासिक पुस्तक पढ्थे । त्यसको बारेमा कुराकानी छलफल गर्थे । गाउँको राजनीतिमा पनि उनी सक्रिय थिए । राजनीतिक भाषणमा पनि पोख्त थिए । यसै क्रममा उनी व्यवसायको लागी काठमाडौ आए । काठमाडौमा एक होटल खोले । उनी राजनीतिक पृष्ठभुमीकै भएका कारण पनि राजनीतिक व्यक्तित्व अलि बढी आउने गर्थे । पैसा पैसा दिँदैनथे । पछि उनको व्यापार घाटामा गयो । यसका साथै उनको अन्य व्यापार पनि चौपट भयो । यसै कारणले उनले खेतजग्गा बेच्नुपर्ने स्थिती भयो । जसकारण उनी मानसिक सन्तुलन गुमाउन पुगे ।

तिनै पिएचडी बाबा युट्युबमा भाइरल भएपछि ग्रीन सिटी हस्पिटल काठमाडौका अध्यक्ष लोकबहादुर टण्डनले उनलाई निशुल्क उपचार गरिदिने भनि काठमाडौ बोलाए । टण्डनले पैसाको अभावका कारण उपचार गर्न नपाएका दुखि गरिबलाई निशुल्क उपचार गर्दै आएका छन् ।

अब केही दिनमै औषधी उपचार पुरा भएपछि उनी आफ्नै गाउँमा फर्कदैछन् । गाउँमा उनको घर पनि बन्दै छ । संचारकर्मीको टोलीले भण्डारीको घर बनाउन सहयोग तथा तेतृत्व गर्दै छ । साथै देशविदेशमा रहने सम्पुर्णमा बाबालाई सहयोग गर्न अपिल समेत गरेको छ । यसै क्रममा नेकपा नेता तथा कार्यकर्ता पुण्य गौतमले पनि उनलाई आफुसक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । साथै सम्पुर्णले पिएचडी बाबाको घर बनाउनको लागी सहयोग गर्न पनि अपिल गरेका छन् ।

थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला

 

 

Comment from facebook

Top