बारेकोटको जोड : शिक्षा र कृषि र पूर्वाधार

एकता न्यूज / असार ११, २०७६ - बुधबार


जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष पूर्वाधार, शिक्षा, कृषि र पशुपालनलाई प्राथमकिता दिने भएको छ । गाउँपालिकालाई विकास, शिक्षा र आयआर्जनका हिसाबले माथि उठाउन पूर्वाधार, शिक्षा, कृषि र पशुपालनलाई जोड दिइएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए ।

राज्यले सँधै उपेक्षामा राखेको कारण अहिले बारेकोट गाउँपालिका अन्तर्गत पर्ने साविकका गाविसहरु भौतिक पूर्वाधार, शिक्षा तथा व्यवसायीक हिसावले धेरै पछाडी छन् । त्यसैले आफू निर्वाचित भएपछि तीनवटै विषयलाई प्राथमिकतामा राखेर अगाडी बढाएको अध्यक्ष शाहीले बताए । त्यसैले भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पशुपालनलाई जोड दिएर आगामी वर्षको बजेट छुट्याईएको छ ।

गाउँपालिकाले आगामी वर्षका लागि भौतिक पूर्वाधारतर्फ रु ६ करोड ३९ लाख ४९ हजार विनियोजन गरेको छ । त्यसमध्ये सडक पुर्वाधारका लागि ३ करोड ५७ लाख ५० हजार, शहरी विकास तथा भवन निर्माणको लागि २ करोड ११ लाख र उर्जाको लागि ५२ लाख विनीयोजन गरिएको छ ।

सडकतर्फ ध्यापाटाकुरा लिम्सा सडक स्तरोन्नती, लिम्सा हानिसल्ला सडक निर्माण, लिम्सा मुल्साम सडक निर्माण, लिम्सा सिलिगीचौर हुदै दह सम्म सडक निर्माण, कार्कीज्युला देखि वडा नंं ७ सम्म सडक निर्माण, सेपुखोल देखि बन्डाला सडक, कार्कीज्युला देखि वडा नंं ६ सम्म सडक निर्माण, घाट वालुवा गोठगाउ हुदै ४ नं वडा कर्यालय जाने सडक, देउलचौर कोटीली १ न वडा कार्यालय सडक र सिलिगें चौर तोलखान करुका सडक रहेका छन् । त्यस्तै दोवील्ला वेलीव्रीज बनाउने योजनाका लागि पनि बजेट विनीयोजन गरिएको छ ।

त्यसैगरि सहरीतथा भवन तर्फ गाउँसभा भवन निर्माण र घेराबार, ९ वटै वडा कार्यालय निर्माण तथा घेराबार र खनेपानी, लिम्सामा पोष्टमार्टम भवन, रामीडाँडामा सार्वजनिक सौचालय, विपी स्मृति भवन निर्माण र कार्यालय फर्निचर तथा फर्निसिङ कार्यक्रम रहेका छन् ।

उर्जा तथा जलविद्युत तर्फ सिमतारा जलविद्युत, अयारीखोला, ढोरेना, गाग्राखोला र भित्रीखोला लघुजलविद्युत, खारी लाईन विस्तार, सुपोखोला लैखम जलविद्युत लाईन विस्तार तथा मिनी ग्रीड कार्यक्रमका लागि बजेट छुट्याईएको छ ।
गाउँपालिकाले शिक्षा तर्फ वडा नं. १ र ४/४ मा सातवटा, २, ३, ५ र ८ वडामा ६/६ वटा तथा ७ र ९ मा ५/५ वटा विद्यालयका लागि पूर्वाधार निर्माणको कार्यक्रम राखेको छ ।

कृषि क्षेत्रको विकासका लागि एक घर एक फलफूल तथा तरकारी नर्सरी विकास कार्यक्रम, प्राङ्गारिक मल तथा जौविक विषदी उद्योग स्थापना, कृषि पकेट, घरबगैचा, उपाध्यक्ष धानदिवस, अध्यक्ष कृषि मेला प्रदर्शनी, जनप्रतिनिधीसँग किसान तथा भकारो सुधार कार्यक्रमका लागि बजेट विनीयोजन गरेको छ । त्यसैगरि आधुनिक कृषि औजार, उन्नत तरकारी वीउ, हिउँदै तथा वर्षे विरुवा, च्याउको वीउ र अलैचिको विरुवा खरिदका लागि पनि बजेट विनीयोजन गरिएको छ । मसाला बाली विकास, नर्सरी प्रविधी, फलफूल खेती तालिम लगायतका कार्यक्रम पनि गाउँपालिकाले आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ ।

यसले कृषकलाई व्यवसायीक बन्न र उत्पादन बृद्धि गर्नका लागि सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । पशुपंक्षी विकास अन्तर्गत एक वडा एक प्राविधिक, कृषक प्रोत्साहन, पशुसेवामा अध्यक्ष अनुदान, पशु व्यवसथापन, पशुस्वास्थ्य शिविर, खोप लगायतका कार्यक्रम छन् । औषधी तथा सामग्री खरिद, बजार व्यवस्थापन, तालिम लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

बारेकोटले पर्यटनलाई पनि जोड दिँदै साइकुवारी पथमार्थ निर्माण, पञ्चेबाजा संरक्षण एवं श्रव्यदृष्य सामग्री निर्माण तथा प्रचारको कार्यक्रम राखेको छ ।

गाउँपालिकाले सामाजिक विकातर्फ खानेपानीका लागि ५१ लाख, स्वास्थ्यका लागि ४० लाख, लैंगिक समानता तथा समावेशीकरणका लागि १८ लाख र शिक्षा तथा खेलकुद तर्फ रु २५ लाख ५ सय २६ विनीयोजन गरेको जनाएको छ ।
यस अन्तर्गत खानेपानीतर्फ बोग्रेछाना, घर्तीगाउँ, धुमा, कलेबारी, लैखाम, खारी रग्रेम, ताँफसैनी, ठेम्नीमेला, बयाला र सिनाकोटका लागि छुट्टाछुट्टै खानेपानी आयोजनाहरु छन् ।

स्वास्थ्य अन्तर्गत हजार दिनका आमाहरुसंग उपाध्यक्ष कार्यक्रम, स्वास्थ्य प्रबद्र्धन कार्यक्रम संचालन, औषधी खरिद ढुवानी, स्टेचर खरिद ढुवानी, बर्थिग सेन्टेरमा आवश्यक औजार उपकरण खरिद लगायतका अन्य कार्य गरिने गाउँपालिकाले जनाएको छ ।
लैगिंक समानता तथा समावेशीकरणतर्फ लक्षित वर्ग उत्थान कार्यक्रम (महिला, दलित, अपांग, जनजाति), सासुवुहारी जनचेतना कार्यक्रम, अन्तरराष्टिय महिला दिवस कार्यक्रम तथा तीज विशेष कार्यक्रम छन् । शिक्षा तथा खेलकुदका कार्यक्रममा रंगशाला निर्माण, अध्यक्ष कप प्रतियोगिता बिद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति कार्यक्रम, शिक्षण सिकाई अनुदान, वालविकास प्रोत्साहन भत्ता लगायत छन् ।

शुसासन तथा अन्तर सम्बन्ध बिकास कार्यक्रमका लागि पनि गाउँपालिकाले प्राथमिकतामा राखेर १४ लाख ४८ हजार रुपैयाँ विनीयोजन गरेको छ । जसअन्तर्गत सुशासन, बिद्यार्थीसंग अध्यक्ष रेडियोे टी.भी कार्यक्रम, वातावरणीय धुवाँरहित चुलो, एमवीवीएस छात्रबृत्ति, मिडिया विकास, विपद व्यवस्थापन, सामाजिक सुरक्षा, आकस्मिक उपचार सहायता, जलवायु परिवर्तन व्यवस्थापन, सुरक्षा, छालाजुत्ता प्रोत्साहन तथा मुढा निर्माण प्रोत्साहन लगायतका कार्यक्रम एवं तालिम कार्यक्र तय गरिएको छ ।

भौतिक पुर्र्वाधार सशर्त नेपाल जलवायु परिवर्तन कार्यक्रम अन्तर्गत क्रमागत रुपमा संचालन गरिने गरी १० वटा योजना छनौट गरिएको छ । प्रत्येक योजना रु. २५ लाख भन्दा बढी लागत अनुमान भएका बहुबर्षीय योजनाहरु छन् । यसरी छानीएका योजनाहरुमा धौलाकोट खानेपानी, पाराखोला सिँचाई सेरी ध्यार गाउँ, गाग्राखोला हुँदै बेर्नासम्म तटबन्ध, कलेवारी खानेपानी मैना, अनाहा खोला, राता ढुगाँ हुदै काउली सम्म तटबन्धन, कोटीला देखि राखेधुला हुँदै घाट सम्म तटबन्धन, भागंछारा काँडापानी, स्याला हुँदै सिम्तारा तटबन्धन, नौमुली खोला सिचाई आयोजना, लैखम, काप्ती खानेपानी आयोजना र दहखोला तटबन्धन रहेका छन् ।

बारेकोट कर्णाली प्रदेशकै दुर्गम गाउँपालिका मध्येको पर्ने भएकोले यसलाई पूर्वाधार विकास, शिक्षा र आयआर्जनका हिसावले माथि उठाउन हरसंभव पहल गरिने गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।

Comment from facebook

Top