बारेकोट मोटरबाटोले जोडियो : जनता भन्छन् ‘गाउँमै सिंहदरबार आएजस्तो भयो’

एकता न्यूज / जेष्ठ १५, २०७६ - बुधबार


जाजरकोट- जाजरकोटको अति दुर्गम गाउँपालिका बारेकोट पुग्नका लागि मोटरबाटोको ट्रयाक खुलेको छ । सदरमुकाम खलंगा देखि २० कोष उत्तरपुर्वी क्षेत्रमा रहेको बारेकोटमाका लागि गाउँपालिकाको ६ करोड वजेटमा मोटरसबाटोको ट्रयाक खुलेको हो ।

ध्यापाटाकुरा देखि गाउँपालिका केन्द्र लिम्सा सम्मको १३ किलोमिटर सडक मध्य साढे ११ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य पुरा भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

दुईदिनसम्म पैदल हिडेर सदरमुकाम खंलगा पुग्नुपर्ने र दैनिक उपभोग्य बस्तुको डुवानी मान्छे, घोडा खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि पहिलो प्राथमिकतामा राखेर सडको ट्रयाक खोलिएको उनले बताए ।

“अब यहाँका नागरीकले भोगेको दुःख पिडा विस्तारै हराउदै जाने छ”, उनले भने ।

सडकको विभिन्न स्थानमा रहेका कडा चट्टान तथा भीर कटिङ्ग गर्ने काम पुरा भएको छ । अब साँघुरो स्थानमा सडक चौडा बनाउने काम अगाडि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईँले बताए ।

वडा नम्बर ८ सेपुखोला, ९ को सक्ला र ६ को घर्तीगाउँ वडा कार्यालयमा सडक पुगिसकेको छ । अब बाँकी रहेका वडाहरुमा १ बर्ष भित्रै सडक पु¥याउने अध्यक्ष शाहले बताए । “सडक निर्माणमा बजेट अभाव हुँदैन” उनले भने ।

बारेकोटबासी सवैले सडक विस्तारले दैनिकी फेरिएको महसुस गरेका छन् । सडक निर्माण भएपछि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट स्थानीय नरेन्द्र बहादुर थापाले बताए । “पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो अहिले गाउँपालिले मोटरबाटो निर्माण गर्यो जनतालाई धेरै सहज भएको छ,” उनले भने ।

अब गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्न पाउने सपना पुरा हुने भएको छ स्थानीले कुसुम सिंहले बताए ।

द्रुत गतिमा काम अगाडि बढेकोले लिम्साको ट्रयाक ओपन गरेर यसैवर्ष मोटर पु¥याउने लक्ष्य रहेको ९ का वडा अध्यक्ष शसीराम गौतमले बताए । सडक खुलेपछि बारेकोटबाट २÷३ दिन पैदल हिडेर खलंगा तथा सुर्खेत र नेपालगन्ज पुगेर मोटर भेटाउनु पर्ने वाध्यताको अन्त्य हुने भएको हो ।

गाउँमा सडक पुगेपछि गाडी चढेर यात्रा गर्न पाउने भएपछि बारेकोटबासी हर्षित छन् । ९ वटा वडा रहेको बारेकोट साविकका रामीडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाउँविकास समितिलाई समेटेर गाउँपालिका बनाईएको हो ।

कृषि उत्पादनमा राम्रो सम्भावना रहेको भएपनि पूर्वाधारका अभावका कारण व्यवसायीक कृषि गर्न नसकिएको बारेकोटमा अब सडक जोडिएपछि कृषि क्षेत्रमा प्रसस्त सम्भावना रहेको विरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । “बारेकोटी गाभा, अदुुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैचीको उर्वर भुमि हो” उनले भने “अहिलेसम्म यत्तिकै रहेका उत्पादनले अब बजार पाउने भए ।”

विकट र ग्रामीण वस्तीहरुमा सडक पहुँच पुगेपछि सर्वसाधारणहरु कृषि उत्पादन र व्यावसाय तर्फ उन्मुख हुने गरी कार्यक्रम बनाइने उपाध्यक्ष ओमा शाहीको भनाई छ ।

स्थानीय तहले गाउँमा पहिलोपटक सडक निर्माण गरेपछि गाउँगाउँमा सिंहदरबार आएको महसुस भएको स्थानीय गोपाल गौतमले बताए । “गाउँ गाउँमा सिंहदरबार नारा मात्र थियो, आफ्नै घर आँगनमा मोटर ल्याएपछि बल्ल साँँच्चै रहेछ भन्ने महसुस भयो” उनले भने “अहिलेका जनप्रतिनिधीका कारण हामीले विकाको आधारभूत पूर्वाधार बल्ल पायौँ ।

 

Comment from facebook

Top