३३ ठाउँमा बम राख्दा थाहा नपाउने गृह भन्छ – शान्ति सुरक्षा पूर्ण नियन्त्रणमा छ

एकता न्यूज / जेष्ठ १३, २०७६ - सोमवार


काठमाडाैं –  देशभरीका ३३ स्थानामा बम फेला परेको छ । विप्लव नेतृत्वलको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दमा आफ्नो प्रभाव देखाउन बम राखेको हो ।

आईतबार र सोमबार बम राखिएका ति स्थानमध्ये कतिपय ठाउँमा विष्फोट भएको छ भने कतिपय ठाउँमा फेला परेको बम सुरक्षाकर्मीले निस्कृय पारेको छ ।

बन्दको अघिल्लो दिन आइतबार दिउँसो सवा चार बजे सिहदरबारको नजिकै घट्टेकुलोमा बम विष्फोट भएको थियो । त्यसको लगत्तै सुकेधारामा विष्फोट भयो । घट्टेकुलोमा एकजना र सुकेधारा विस्फोटमा तीनजना गरी चारजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

घट्टेकुलो विष्फोटमा विप्लव नेतृत्वकै नेकपाका कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको र सुकेधारा विष्फोटका मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

ङट्टेकुलाेमा सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ।

घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी रहेका छन्। उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। दुई घाइतेको परिचय खुलेको छैन।

त्यस्तै आइतबार नै राति ८ बजेतिर थानकोटको एक इँटाभट्टामा भएको विस्फोटमा चन्द समूहका बुद्ध लामा र अर्का एक कार्यकर्ता घाइते भएका छन्।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका र पोखराको एनसेल अपिसन नजिक बम विष्फोट भएको छ ।

काठमाडौ उपत्यकामा चन्द्रागिरी, कोटेश्वर, भक्तपुरको च्यामासिंह मालपोत कार्यालयनजिक बम फेला परेका छन् । मोरंगको बुढीगंगा र सुन्दरहरैचा, बिराटनगर महानगरपालिका, रौतहटको चन्द्रनिगाहपुरमा बम भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको अरुणखोला पुल, अर्घाखाँचीको सन्धिखर्क, बाग्लुङ नगरपालिका, कपिलवस्तुको वाणगंगामा २ ठाउँ, सानेपा रिङरोडको नयाँबाटो, लगनखेल, सातदोबाटो, ग्वार्कोमा पनि बम फेला परेका छन् ।

तनहुँको बन्दीपुर १ नाहला, तनहुँ व्यास नगरपालिकको मुसीखोला, हेटौंडाको बुद्धचोक, बैतडीको दोगडाकेदार गाउँपालिका र श्रीकोट, हेटौंडाको चौकीटोल, धादिङको महादेवबेसी पुल, धादिङकै नौबिसे, कास्कीको अन्नपूर्ण गाउँपालिका नागडाँडामा बम फेला परेका छन् । पोखराकै नयाँबजार, पोखरा न्यूरोडमा बम फेला परेका छन् । ती मध्ये कतिपय स्थानमा बम विष्फोट भएका छन भने कतिपयका नेपाली सेनाले डिस्पोज गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ।

शृङ्खलाबद्ध बम बिस्फोट भएपछि आइतबार बसेको गृह मन्त्रालयको बैठकपछि गृह सचिव प्रेम राईले सुरक्षा अवस्था पूर्ण रुपमा आफूहरुको नियन्त्रणमा रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको दाबी गरेका थिए । गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्थाका कडा पार्न निर्देशन जारी गरेको थियो ।

आवश्यक परेको अवस्थामा सुरक्षा जनशक्ति थप माग गर्न पनि भनिएको उनले जानकारी दिए । सुरक्षा व्यवस्था कडा पारिएको र आवश्यक परेका बेला सबै किसिमको सहयोग र सहकार्यका लागि तयार रहेकाले ठुक्क भएर सवारी साधान चलाउन सबैमा आग्रह रहेको पनि उनले बताएका छन् ।

जेठ ७ गते भोजपुरमा प्रहरीको गोली लागेर आफ्नाकार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा सोमबार विप्लव समूहले बन्द आह्वान गरेको हो।

Comment from facebook

Top