नासु र खरिदारको पनि समायोजन सकियो, हालसम्म १८ हजार ४ सय २४ कर्मचारी समायोजन

एकता न्यूज / फाल्गुन ६, २०७५ - सोमवार


काठमाडौं – सरकारले नायव सुब्बा र खरिदारको समायोजन पनि टुंग्याएको छ । सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ नायव सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको समायोजन गरेको हो ।

जसमा ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदारको समायोजन भएको छ । समायोजन विवरण हेर्न चाहने कर्मचारीले समायोजन डट जीओभी डट एनपीमा आफ्नो संकेत नम्बर राखेर हेर्न सकिने व्यवस्था गरीएको छ ।

समायोजन भएका नायव सुब्बामध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजश्व तर्फ ६७५ जना रहेका छन् ।

जसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार ३ सय १० जनाले सङ्घ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्

त्यसै गरी राजश्वतर्फका ६ सय ७१ जनाले सङ्घ रोजेका छन् भने ४ जना प्रदेश रोजेका छन् ।

त्यस्तै समायोजन भएका प्रशासन सेवारसामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये सङ्घमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्

यससँगै सोमबार साँझसम्म समायोजन भएका कर्मचारीको सङ्ख्या १८ हजार चार सय २४ पुगेको छ । यसमध्ये सङ्घमा १२ हजार सात सय ८६, प्रदेशमा दुई हजार चार सय ४८ र प्रदेशमा तीन हजार एक सय ९० जना रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिइसकेको छ ।

कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुका अनुसार अहिले अधिकृतको समायोजनको काम जारी छ । अधिकृततर्फ प्रशासन, लेखा र राजश्व समूहको समायोजन सकिएको छ । अब अधिकृतका अन्य समूहसँगै लेखापाल, सहलेखापाल, नायब सुब्बा र खरदारको समायोजनको काम पनि सुरु गर्ने तयारी छ ।

५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६७६ सहसचिवमध्ये संघमा ५७४ र प्रदेशमा १०२ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५३१, प्रदेशमा २३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।

यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३४१ जना संघमा, ३७१ जना प्रदेशमा र १७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।

यस्तै, लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।

राजश्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

Comment from facebook

Top