द्वन्द्वकालमा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा

एकता न्यूज / माघ १५, २०७५ - मङ्लबार


काठमाडौं–सरकारले द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।

मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८०७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।
देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको भन्दै प्रधानमन्त्री ओलीले राज्यले सबैलाई समान व्यवहार गर्ने बताए ।

द्वन्द्वका क्रममा एकले अर्काको अस्तित्व नामेट पार्ने अवस्था रहेको भएपनि अहिले एकले अर्कालाई सम्मान गर्ने वातावरण बन्दै देश बनाउने भावना प्रकट भएको पनि प्रम ओलीले बताए ।

भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्न प्रतिबद्धता जनाउँदै ओलीले भने, ‘म आफू भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, कसैले गरेमा अनुहार नहेरी कारबाही गर्छु । कारबाहीमा कुनै मोहहिज्जा गर्ने छैन।
उनले थपे, ‘हिजोको दिनमा अधिकार आफ्नो हातमा लिएर १३ पन्ने आतंक पनि चलेको हो । भ्रष्टाचार विरुद्धको कुरा मात्रै गरेर हुन्न वास्तवमै नियन्त्रण गर्ने गरी काम हुनुपर्छ । ’

केही मान्छे अझैं पनि द्वन्द्वको खाटा बसिसकेको घाउ उप्काउन लागिपरेको भन्दै उनले त्यसविरुद्ध नागरिकसमेत चनाखो बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘ अब द्वन्द्वका घाउमा मह्लमपट्टी लगाएर अगाडि बढ्नुपर्छ । ’

देशलाई विखण्डन गर्ने तानाशाहपन यो सरकारले नसहने पनि ओलीले बताए ।

समारोहमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीको सीमावर्ती जिल्लाका गणहरुको स्तरबृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने जानकारी दिए । यस्तै १७ जिल्लामा रहेका अस्थायी गणलाईस्थायी गरिने पनि उनले बताए ।

वार्षिकोत्सवको अवसरमा पूर्वआईजीपी दुर्जकुमार राई र पूर्वएआईजी रोहित थापालाई एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।

यस्तै कृष्णमोहन श्रेष्ठ र सहवीर थापालाई मरणेपरान्त सम्मान गरियो भने ५ नम्बर बाहिनी मुख्यालय रुपन्देहीलाई उत्कृष्ट बाहिनीको अवार्ड दिइयो । सो अवार्ड डीआईजी चिरन्जीवी अधिकारीले ग्रहण गरेका थिए ।

यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई पनि सम्मान गरिएको थियो ।

Comment from facebook

Top