कर्मचारीले किसानले बुझ्न नसक्ने भाषा बोले : कृषिमन्त्री, कर्मचारीलाई भाषा सिक्न निर्देशन

एकता न्यूज / माघ १२, २०७५ - शनिबार


सर्लाही – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले कर्मचारीले बोलेको भाषा किसानले बुझ्न नसकेकाले भाषा सुधार गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘तपाईंले बोल्ने भाषा किसानले बुझ्दैनन् भने पहिले तपाई आफैँले भाषा सिक्नुस । किसानलाई बल्लतल्ल साक्षर बनाउँदैछौ । तपाईंले बोल्ने यो अङ्ग्रेजी भाषा किसानले बुझ्दैनन ।’

सर्लाहीको नवलपुरमा रहेको तेलबाली अनुसन्धान कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले भाषाको बारेमा सरकारले नीति नै बनाउन लागेका हुनाले अहिलेदेखि त्यसमा सुधार गर्न कृषिका कर्मचारीलाई निर्देशन दिए ।

‘तपाईंलाई थेसिस लेख्न, गुगलमा राख्न, विदेशीसँग प्रस्तुत हुनलाई ठिक होला तर किसानका लागि हुँदैन । तपाईंहरूको तथ्यांक लिने तरिका पनि चित्तबुझ्दो लागेको छैन’, उनले भने, ‘कतिपय अवस्थामा अन्दाजका आधारमा लिइँदोरहेछ । तेलको बारेमा अध्ययन गर्ने एउटामात्र कार्यक्रम भएपनि प्रभावकारी हुन सकेको छैन ।’

किसानलाई कुनै कुरा बुझाउँदा अंग्रेजी भाषामा बुझाउँदा नबुझेकाले कृषिमा विकास हुन नसकेको बताउँदै मन्त्री खनालले किसानका लागि सरल भाषा बनाउन कर्मचारीलाई निर्देशन दिए ।

जनशक्ति र बजेटका अभावले गर्दा तेलबाली प्राथमिकतामा नपरेको बताउँदै उनले भुटानले ६ वर्षभित्र लगानी गरेर अहिले निर्यात गर्न थालेको बताए ।

नेपालमा पनि धेरै कुरामा आत्मनिर्भरको नजिक रहेको सरकारले अलिकति व्यवस्थापन मात्र गरिदिए चाँडै नै आत्मनिर्भर हुने उनले दावी गरे ।

तेलहन बाली कार्यक्रमका प्रमुख डा. बिपी यादवका अनुसार मुख्य खाद्यबाली पछि तेल सबैभन्दा बढी आयात हुने गरेको छ ।

सन २०१५ मा २२ अर्ब ५१ करोडको आयात भएकोमा अहिले बढेर २८ अर्ब ५१ करोड ५३ लाख पुगेको छ ।  ३४ हेक्टरमा मत्र तेल अनुसन्धान भइरहेको छ ।

नेपालमा प्रति हेक्टरमा  ५०० किलो तेलहनवाली उत्पादन हुने गरेको छ । भारतमा प्रति हेक्टर २५ सय केजीको दरले उत्पादन हुने गरेको छ ।

Comment from facebook

Top