स्वाइन फ्लु लाग्नै नदिन के गर्ने ?

एकता न्यूज / माघ १०, २०७५ - बिहिबार


स्वाइन फ्लु भाइरसको कारणले लाग्ने सरुवा रोग हो। सबैभन्दा पहिले यसको संक्रमण मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो। यो रोग फैलाउन मुख्यतया ५ प्रकारका भाइरस जिम्मेवार हुन्छन्। ती हुन्– एचवानएनवान, एचवानएनटु, एचथ्रीएनटु, एचथ्रीएनवान र एचटुएनथ्री।

म्युटेसनका कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ। जसमध्ये अहिले एचवानएनवान सबैभन्दा खतरनाक भाइरस रुपमा देखिएको छ। जसले मुख्यतया श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ।यसको संक्रमण संसारका धेरै देशमा देखिएको छ।  सर्वप्रथम त सुँगुरको सम्पर्कमा नियमित रहिरहने मानिसमा सुँगुरबाट यो भाइरस सर्ने भनिए पनि पछिल्लो समयमा नयाँ भाइरस देखिएसँगै यो सुँगुरसँग प्रत्यक्ष सम्पर्कमा हुनाले मात्र नहुने भनिँदै आइएको छ।

कसरी फैलन्छ स्वाइन फ्लु?
स्वाइन फ्लु प्रभावित व्यक्तिहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ। स्वाइन फ्लुको किटाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ। रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छिउँ गर्दा किटाणुयुक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ जसले गर्दा सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत किटाणु  हुन सक्छन्।

ढोकाको हेन्डिल, मोबाइल फोन, टिभीको रिमोट, भर्यानङको रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड आदि सतहमा किटाणु केही समयसम्म जीवित रहन सक्छन् जसबाट पनि अर्को व्यक्तिलाई सर्ने सम्भावना हुन्छ। भाइरस शरीरभित्र गएको सामान्यतया सात दिनभित्र स्वाइनको लक्षण देखिन सक्छ।

यो रोगले विशेषगरी श्वासप्रश्वास रोगका समस्या भएका, मधुमेह, अंग प्रत्यारोपण गरेका, रोग प्रतिरक्षात्मक शक्ति कम भएका, अन्य जटिल रोगबाट संक्रमित व्यक्ति, गर्भवती महिला, बच्चा बालबालिका, वृद्धवृद्धालाई बढी सताउने गर्दछ।

लक्षण
यसको लक्षण सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो हुन्छ। स्वाइन फ्लु भएमा ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने ,भोक नलाग्ने, जीउ दुख्ने, थकाइ लाग्ने, सास लिन कठिनाइ हुने, वान्ता हुने, झाडापखाला समेत हुनसक्छ।

उपचार र रोकथामका उपाय 
यदि सुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा उपचार सम्भव छ।

यसबाट बँच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्घर रहनु नै हो। सार्वजनिक स्थानमा जाँदा रोग प्रतिरोधक स्तरीय मास्क एन-९५ प्रयोग गर्ने,  खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने  र साबुन–पानीले हातमुख धुने, आफ्नो नाक वा मुखतिर बारम्बार हात नलाने, खोकी लागेको व्यक्तिबाट टाढै रहने, प्रशस्त मात्रामा पानी पिउने, सकेसम्म धेरै भिडभाड भएको ठाउँतिर नजाने, आराम गरेर बस्ने, भेटघाटका बेला हात मिलाउनु, अंकमाल गर्नुको साटो नमस्कार गर्ने र माथि भनिएको लक्षण देखिएको शंका लागेमा तुरुन्त चिकित्सकसँग परामर्श गर्ने प्रमुख केही उपाय हुन्।

यसलाई रोकथाम गर्नका लागि डाक्टरको सल्लाहबमोजिम भ्याक्सिनको पनि  प्रयोग गर्न सकिन्छ।

अहिले स्वाइन फ्लु डरलाग्दो रोगको रुपमा चिनिँदै छ। दिनदिनै यसका बिरामी बढ्ने क्रम जारी छ। अझ भन्नुपर्दा राजधानीमा त झन् यसको खतरा बढ्दै गइरहेको छ। जनचेतनाको अभाव वा यसको लक्षण सामान्य रुघाखोकीसँग मिल्ने भएका कारण धेरैजसो बिरामी  अन्तिम अवस्था पुगेपछि मात्र अस्पताल जाने गरेको देखिन्छ। जसले गर्दा एचवानएनवान पोजेटिभ देखिएका बिरामीलाई बचाउन हम्मेहम्मे परेको छ।

एचवानएनवान हो कि होइन भनेर छुट्टाउन घाँटीबाट र्यातल निकालेर जाँच गर्न पठाइन्छ। सम्भवत: त्यो जाँच टेकु प्रयोगशालामा मात्रै हुने गर्छ तर बिडम्बना, त्यसको रिपोर्ट आउन ४-५ दिन कुर्नु पर्छ। जसले गर्दा बिरामीको उपचारमा निकै ढिलो हुने गरेको देखिएको छ। एक त बिरामी नै सिकिस्त भएपछि  मात्र अस्पताल  आइपुग्छन्, अर्को रिपोर्ट नै ढिलो दिने कारण ले पनि रोगको सही उपचारमा ढिलासुस्ती हुने गरेको पाइएको छ।

यसको उपचारको लागि  भाइरलविरुध्द ओसेल्टामिविर औषधि दिने गरिन्छ। यदि बिरामीलाई सही समयमा यो औषधि उपलब्ध गराउन सकिने हो भने बिरामीलाई बचाउन सकिन्छ। तर यहाँ रिपोर्टको आधार मात्र औषधि दिने सिस्टमले गर्दा बचाउन सकिने बिरामीको पनि अकालमा मृत्यु भइरहेको छ।

बिरामीलाई डाक्टरले एचवानएनवान होला भनेर उपचार अगाडि बढाउनको लागि ओसेल्टामिविरको अभाव छ, त्यो औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र पाइन्छ र त्यसका लागि अनिवार्य पोजेटिभ देखिएको रिपोर्टको आवश्यकता पर्छ। होइन भने सोर्सफोर्स लगाउनु पर्ने हुन्छ। रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीको अवस्था नाजुक भइसक्छ । कतिपय बिरामीको त मृत्यु नै भइसक्ने खतरा समेत हुन्छ।

यदि एचवानएनवान लागेर बिरामीको मृत्यु नहोस् भन्ने चाहने हो भने सुरुमा त जनचेतना नै फैलाउनु आवश्यक छ। सहरमा त अवस्था यस्तो छ भने दुरदराजका बिरामीको अवस्था कस्तो होला। अर्को, जुन जाँच गरिन्छ त्यो जाँचलाई छिटोभन्दा छिटो हुने  व्यवस्था गर्नुपर्योु जसले गर्दा उपचारमा कुनै ढिलोसुस्ती नहोस्।

अर्को कुरा, जुन औषधिबाट मात्र निको पार्न सकिन्छ त्यो औषधि आपतकालीनको लागि भनेर प्रत्येक अस्पतालमा उपलब्ध गराउनुपर्योा, जुन औषधि डाक्टरले जाँच गरेर स्वाइन फ्लु हो भन्ने प्रमाणित भयो भने तुरुन्त दिन पाइयोस्।

यो एउटा सरुवा रोग हो संक्रमित व्यक्तिबाट सजिलै अरुलाई सर्न सक्छ। बिरामीको परिवार त जोखिममा हुने नै भयो। त्यसैगरी बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीका परिवार झन् धेरै जोखिममा छौं। कति अस्पतालमा त स्वास्थ्यकर्मीलाई नै बिरामीबाट सरेको भन्ने कुरा पनि सुनिन आएको छ। यस्तो अवस्थामा प्रोफिलैक्सिसको लागि औषधि उपलब्ध नगराउने हो भने हामी स्वास्थ्यकर्मीले कहिलेसम्म यस्तै जोखिममा काम गर्ने?यस्तो डर नै डरमा बसेर उपचार गर्दा के हामीले सही उपचार दिन सक्छौं?
(नर्स थपलिया स्टार हस्पिटलमा कार्यरत छिन्)

Comment from facebook

Top