दसैँमा गुल्मी घुम्दै हुनुहुन्छ ? नछुटाउनुस यी ठाउँ

हुमाकान्त पोखरेल / असोज ३०, २०७५ - मङ्लबार


गुल्मी । दसैँ मनाउने तरिका फरक–फरक छन् । कसैले खानपिनलाई खसैँ मान्छन् त कतिले घुमघामलाई दसैँ मानेका हुन्छन् । रोजगारिको शिलशिलामा होस् वा अन्य कारणले गाउँभन्दा बाहिर रहेकाहरुका लागि दसैँ घुम्ने अवसर हो । आफन्तकोमा दसैँ मान्न गएकाहरु पनि घुम्न पाउनेछन् । यदि तपाई गुल्मी हुनुहुन्छ, र कहाँ घुम्ने भनेर ठाउँ भेटाउनुभएको छैन भनेपनि चिन्ता नमान्नुहोस । किनकि हामि जानकारी दिदैँछौ ।

सात प्रदेशमध्ये ५ नम्बर प्रदेशअन्तरगतका १२ मध्येको एक जिल्ला गुल्मीको क्षेत्रफल १,१४९ वर्ग कि. मि. छ । समुद्री सतहबाट रिडी ४६५ मि. देखि थाप्लेको लेक २६९० मि. उचाई सम्मको भू–भाग, सरदर पूर्व पश्चिम लम्बाई ४० कि. मि. र उत्तर दक्षिण चौडाई ३० कि. मि. क्षेत्रमा गुल्मी अवस्थित छ ।

संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकर गरिएको हो भन्ने भनाइ रहेको छ । हाल गुल्मी जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका सहित धुर्कोट, इश्मा, मदाने, मालिका, गुल्मी दरबार, चन्द्रकोट, कालिगण्गडी, सत्यवती, रुरु र छत्रकोट गरी १२ स्थानीय तह छन् । दसैँको अवसरमा आउनुभएका सम्पूर्णको लागि गुल्मीमा घुम्नैपर्ने मुख्य ठाउँहरु यसप्रकार छन् ।

धुर्कोट कोट
धुर्कोट गाउँपालिकाको मध्यभागमा पर्ने धुर्कोट कोट नेपालको चौबिसे राज्यमध्येको ऐतिहासिक दरबारको नाम हो । धुर्कोट कोटमा खड्गछत्रको आरधाना गरिने भएकोले पनि यो निकै महत्वपूर्ण धार्मिक स्थल हो । मध्यकालका राजाले दरबारको परिसरमा भवानिको मन्दिर बनाएर पुजा गर्ने चलन चलाएपनि अहिले पुरै कोटलाई नै मन्दिरको रुपमा मानिएको छ । जुन नेपाल एकिकरणपूर्वको २४ से राज्यमध्येको धुर्कोट राज्यको राजानी राजदरबार हो ।

उत्तर मध्यकालिन समयमा ७०० घरधुरी रहेको धुर्कोट १४६५ मा न्यायनको केन्द्र बन्यो । बहादुर साहको पालामा काजि दामोदर पाण्डेको फौजले धुर्कोटलाई बृहत राज्यमा गाभेको हो । कोटमा मल्लकालिन राजाका हतियार र तरवारलाई बर्षको एक दिन भगवान मानेर पुजा गरिन्छ । धुर्कोट कोटमा नवमिको दिन भाकल चढाउने, परेवा उडाउने र पञ्जवली दिने गरिन्छ । कोटमा पूर्णिमाको दिन पुजा र सरायँ नाच हुने गर्दछ । धुर्कोट कोटबाट गाउँपालिकाका सबै वडा देखिनुका साथै विभिन्न शृङ्खला पनि देख्न सकिन्छ ।

 

रुरु क्षेत्र
गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर र खम्बा हो र गुल्मीको मुख्य प्रवेशद्वार पनि । रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा रहेको छ । यंहा भगवान शिबले आफ्नी पत्नी पार्बतीको शव बोकेर संसारको भ्रमण गर्दै गर्दा सतीदेविको उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केहि ब्याख्या गरिएको छ ।

त्यस्तै गलफूलगुफा पनि गुल्मीको थोर्गा तर्फको भागमा रहेको छ । धार्मिक धरोहर रुरु क्षेत्रमा साना ठूला गरेर १ सय बढि मन्दिर तथा साना ठूला केहि गुफा पनि छन् । रिडीमा मुख्य गरि माघे सक्रंन्तिमा तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ । साथै बर्ष भरीको औंशी, पुर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रिडी सामुन्द्रिक सतह देखी १ हजार ८ सय फीटको उचाइमा रहेको छ ।

भगवान बिष्णुको प्रतिक मानिने शालीग्रााम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लब शालिग्रााम पाइने स्थानका रुपमा पनि चिनिएको छ । रिडीमा राडि पाखी, डोका डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचि लगायतका स्थानिय उत्पादन पनि प्रख्यात मानिन्छ । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सिमानाबाट बग्ने पवित्र कालीगण्डकीमा सुन खोज्नेहरुको पनि तांती नै लाग्छ ।

 

रेसुङ्गा क्षेत्र
समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि प्रसिद्ध छ । यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर समस्या सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पनि छ । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ«्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ ।

यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो । रुरुक्षेत्र पादस्थान हो । भने रेसुङ्गाक्षेत्र शिरस्थान हो । नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये रुरु रेसुङ्गा क्षेत्रलाई पनि विकास गर्ने उद्देश्यले २०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको स्थापना गरेको छ ।

महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रुपमा रहेको छ ।

चारपाला
गुल्मी चारपाला एतिहासिक तथा पुरातात्विक दृष्टिकोणका अलावा धार्मिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले यो एउटा स्वतन्त्र राज्य थियो जुन गुल्मी राज्य नामले चिनिन्थ्यो । वीर शाही यहाँका पहिला राजा थिए । हाल इश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालामा बर्षको दुई पटक पूजा आजा गर्ने, पञ्चवली ल्याउने र सरांयँ नाच्ने गरिन्छ ।

मुसिकोट
मुसिकोट पनि गण्डकी प्रदेशका चौबिसे राज्य समुह मध्यको एक महत्वपूर्ण राज्य मानिन्थ्यो । टाकुरामा अवस्थित यस राज्यमा सिंह ठकुरी राजाहरुले राज्य गर्दथे । प्रचलन अनुसार सिंह ठकुरी राजाहरुले स्थापना गरेको खड्ग देवीको मन्दिर अहिले पनि छ, जसलाई दरबारकोट भनिन्छ ।

विचित्र गुफा
गुफा सदरमुकाम तम्घासबाट पश्चिम कारीब चार कोषको दुरिमा रहेको छ । प्रकृतिको अद्भुत उपहारको रुपमा रहेको यो गुफाको कुल १८५ मिटरसम्म अध्ययन गरिएको छ । बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप, शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ ।

गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको छ । विचित्र गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र छ । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् ।

 

मदाने लेक
गुल्मीको उत्तर पश्चिम क्षेत्रका तत्कालिन ११ वटा गा.वि.स. मा मदाने लेक पर्दछ । कुल दुई हजार ६९० मिटर उचाइमा रहेको मदाने लेकबाट छल्दी, पनाहा, निस्ती लगायतका नदि वग्ने गर्दछन् ।

थाप्ले लेक
गुल्मीको कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका साविकका २६ वटा गाविसमा पर्ने थाप्ले सत्यवती वन क्षेत्रले वातावरणीय र धार्मिक पर्यटकीय क्षेत्रको ३७ हजार ८४३ हेक्टर भूभाग ओगटेको छ । वातावरणीय, पुरातात्विक, जैविक विविधताजस्ता विशेषता थाप्लेको लेकमा छन् ।

‘थाप्ले सत्यवती’ क्षेत्र स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा नै महत्व राख्ने टिमुर, चिराइतो, लोक्ता, अल्लो, सुगन्धवाल, सतुवालगायत जडीबुटी पाइन्छन् । जनसहभागितामा आधारित सूक्ष्म पारिस्थितिकीय प्रणाली व्यवस्थापनको अवधारणाअनुरुप समग्र वन क्षेत्रको व्यवस्थापनद्वारा प्राकृतिक स्रोत, जलस्रोत तथा जैविक विविधताको संरक्षण, पर्या–पर्यटनको विकास एवं पर्यावरणीय सन्तुलन कायम गर्ने लक्ष्यका साथ ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन समेत घोषणा गरिएको छ ।

अचमेश्वर गुफा
गुल्मीमा विचित्र बाहेकका अरु गुफा पनि छन् भन्दा अचम्म लाग्न सक्छ । तर जिल्लाको रुरु गाउँपालिका १ मा पर्ने कालिगण्डकी किनारको साँघुरे भन्ने स्थानमा रहेको अचमेश्वर गुफा भित्र स्वयम् उत्पत्तिमान शिवलिङ्ग, योनी आकारका शिला, गणेश, नन्दि, ब्रह्मा, विष्णु महेश्वर आदि भगवानका मुर्ति, नाग कुण्ड आदि सनातन धर्म संस्कृतिका सम्पदाका आकृति रहेका छन् ।

कालिगण्डकी किनारको पहाडको खोंचमा रहेकोले गुफामा पुग्न कठिन भएपनि डोरीको सहायताले भक्तजनहरु दर्शनार्थको लागि पुग्ने गरेका छन् । शिवरात्रीमा भव्य मेला लाग्छ । समितिले अस्थाई प्रकृतिको बाँसको भ¥र्याङ निर्माण गरी आवत जावतको व्यवस्था मिलाएको छ ।

अर्जुन डाडाँ
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जन डाँडाबाट गुल्मीका विभिन्न स्थानसहित अर्घाखाँचि, पाल्पा लगायत विभिन्न हिम शृंखलाहरुको अवलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा जैविक विविवधताले महत्वपूर्ण मानिएको अर्जुन डाडाँ करिव २ हजार मिटर उचाईमा रहेको छ । पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यता छ ।

अर्जुनले यसै गिरीमा वसी गिताको तत्व ज्ञान लिनुभएको, शिवजीले यसै गिरीमा ध्यान गर्नु भएको भन्ने किंवदन्तीले पनि सयौ वर्ष देखि अर्जुन भगवती मन्दीर, छत्रस्थान, नगस्थान, सिद्धस्थान, शिवस्थानमा पुजा गर्ने तथा वली चढाउने गर्दछन् । भने अर्जुन डाँडामा रहेको मन्दीरमा वडादशैको घटस्थापनाको दिनदेखी नवदुर्गा देवीको पूजा गर्ने गर्दछन् । डाँडासँगै रहेको जंगलमा लाली गुँरास, ओखर, चाप, काफल, समेतका वनस्पति र सयौ प्रजातिका जडीवुटी पाइने भएकोले पनि यो पर्यटकिय हिसाबले निकै महत्वपूर्ण छ ।

धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका टिमुरे लेक, दिब्ब्रुङ दह, क्वाङ्के देउराली, शालिमेदह तथा प्रकृतिको अनुपम संरचना सिदेद्धर गुफा पनि यहि जिल्लामा रहेका छन् ।

 

Comment from facebook

Top