सीआइएन् को अभियानमा गुल्मीका स्काईकर्मी पोखरेल प्रथम

एकता न्यूज / भदौ ५, २०७५ - मङ्लबार


गुल्मी । नेपालभर संचालन भएको बाल विवाह विरुद्धको सय दिने सामुदायिक रेडियो अभियानका क्रममा सकृय सामुदायिक रेडियोमध्ये १० वटा रेडियो पुरस्कृत भएका छन् । बाल बिवाह विरुद्धको आवाज संकलन गरेर पठाएको सङ्ख्याका आधारमा सामुदायिक रेडियोकर्मीहरुलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

जसमा सामुदायिक रेडियो स्काईका हुमाकान्त पोखरेलले ११ हजार राशिको प्रथम पुरस्कार प्राप्त गरेका छन् । सोमबार बसेको अकोरावको बैठकले स्काईकर्मी पोखरेललाई प्रथम पुरस्कार दिने निर्णय गरेको सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए ।

पोखरेलले गुल्मी जिल्लाबाट कुल एक हजार ६७ वटा बाल बिवाह विरुद्धका आवाज सीआइएन् लाई पठाएका थिए । भने रेडियो स्काईले पनि बाल बिवाह विरुद्धका आवाज बिहान ८ बजे र साँझ ७ बजेको स्काई खबरमा प्रशारण गरेको थियो । जिल्ला समन्वय समिति, रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छत्रकोट र इश्मा गाउँपालिका लगायतका स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीको बाल बिवाह न्यूनिकरणको प्रतिवद्धता सीआइएन् र सामुदायिक रेडियो स्काईबाट प्रशारण भएको थियो ।

पाञ्चायन मावि र हिमालय मावि धुर्कोट, पृथ्वी मावि मदाने, त्रिभुवन मावि मुसिकोटका शिक्षक तथा विद्यार्थीहरुको आवाज पनि रेडियो स्काई र सीआइएन्बाट प्रशारण भएको थियो । त्यस्तै तम्घासस्थित महेन्द्र नमुना मावि, सिद्धबाबा मावि, गण्डगी इङ्गिस बोर्डिङ स्कूल, आदर्श विद्या आश्रम लगायतका विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको आवाज पनि प्रशारण भएको सीआइएन्ले जनाएको छ ।

समाजमा बालबालिका, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई बाल बिवाहका सम्बन्धी चेतना फैलाउन यस अभियानले ठूलो सहयोग गरेको पाञ्चायन मावि धुर्कोटका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले बताए । यसै अभियानलाई मध्यनजर गर्दै जिल्लाको मुसिकोट नगरपालिकाले बाल बिवाह विरुद्धको सुचना नै प्रशारण गरी बाल बिवाह न्यूनिकरणमा लागेको रेडियो स्काईका लेखापाल उत्तम पन्थीले जानकारी दिए ।

पोखरेल विगत दुई बर्षदेखि गुल्मीको सदरमुकामस्थित सामुदायिक रेडियो स्काईमा समाचारको क्षेत्रमा कार्यरत छन् । त्यसका साथै उनी ए.बि.सी. टेलिभिजनका पनि गुल्मी संवाददाता हुन् ।

Comment from facebook

Top