गुल्मीमा २०७४ सालको एस्.ई.ई.मा महेन्द्र नमुना मावि उत्कृष्ठ

हुमाकान्त पोखरेल / साउन २, २०७५ - बुधबार


गुल्मी । गुल्मीमा २०७४ सालको एस्.ई.ई. परिक्षाफलमा सामुदायिक विद्यालयतर्फ तम्घासको महेन्द्र नमुना माध्यमिक विद्यालय उत्कृष्ठ भएको छ । परिक्षामा न्यूनतम ५० विद्यार्थी सहभागि हुनुपर्ने, परिक्षाफल उत्कृष्ठ हुनुपर्ने, विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय लगायतका मापदण्डको आधारमा विद्यालय जिल्लामै उत्कृष्ठ भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाका सबै विद्यालयहरुको परिक्षाफलको फारम ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाएको थियो । सोहि फारमका आधारमा सबै मापदण्डहरु उत्कृष्ठ भएको भन्दै मन्त्रालयले गुल्मीको उत्कृष्ठ विद्यालयमा महेन्द्र नमुना माविलाई छनोट गरेको विद्यालयका लेखापाल शालिकराम पन्थीले जानकारी दिए । मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका उत्कृष्ठ विद्यालयहरुलाई सम्मान समेत गरेको छ ।

जसमा महेन्द्र नमुना माविका तर्फबाट प्रध्यानाध्यापक केशर बहादुर थापाले सम्मान पत्र र ८० हजार ग्रहण गरेका थिए । सम्मान पत्र प्रदान गर्दै ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालयको थप सफलताको कामना गरे । ०७४ को एस्.ई.ई. परिक्षामा समावेश कुल ६२ जनामध्ये पाचँ जनाले ‘ए प्लस’ ग्रेड हाँसिल गरेका थिए । त्यस्तै २९ जनाले ‘ए’, १५ जनाले ‘बि प्लस’, १२ जनाले ‘बि’ तथा एक जनाले ‘सि प्लस’ ग्रेड हाँसिल गरेको लेखापाल सालिकराम पन्थीले जानकारी दिए ।

विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि खुसियाली समेत साटासाट गरेको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थीको अध्यक्षता, सल्लाहकार समिति संयोजक भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नम्बर २ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक युवराज ज्ञवालीले गरेका थिए ।

Comment from facebook

Top