यसरी हुँदैछ लामिछानेको ‘देवत्वकरण’ र ‘अपराधीकरण’

एकता न्यूज / असार ७, २०७५ - बिहिबार


समाचार टिप्पणी

काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेबारे सोसियल मिडियामा ‘देवत्वकरण’ र ‘अपराधीकरण’ को सिलसिला सुरु भएको छ ।

प्रेस काउन्सिलमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य लगायतका धेरै वक्ताहरुले रवि लामिछानेको खुलेरै आलोचना गरे । त्यहाँ केही सरकारी कागजात पनि देखाइयो, जसमा लामिछानेले गरिरहेको कार्यलाई गैरकानूनी करार गरिएको छ ।

नुवाकोट घर भई हाल कीर्तिपुर बस्ने लक्ष्मण बिकले गत माघ २७ गते प्रेस काउन्सिलमा एउटा निवेदन दर्ता गराएका थिए । रवि लामिछानेविरुद्ध परेको सो उजुरीमा रवि लामिछाने विना अनुमति व्यक्तिको कार्यकक्ष र घरमा घुसी अनर्गलरुपमा भ्रामक समाचार बनाउनु र भिजुअल खिच्ने र आम सीधा सादा जनतालाई दुःख दिने गरेको आरोप लगाइएको छ ।

निवेदनमा लामिछाने अमेरिकी आप्रवासी रहेको र सूचना विभागबाट अनुमति नलिई पत्रकारिता गरिरहेकाले उनीमाथि कारवाही गर्न माग गरिएको छ ।

बिकको निवेदन परेपछि प्रेस काउन्सिलले रवि लामिछानेसँग स्पष्टीकरण माग गरेको थियो । अमेरिकाबाट केही सिकेर नेपाल फर्केको बताउने लामिछानेले स्पष्टीरकरण दिने क्रममा नम्र एवं सभ्य भाषाको प्रयोग गर्नुको साटो प्रेस काउन्सिलकै पदाधिकारीलाई धम्की दिने काम गरे ।

लामिछानेले आफ्नो लिखित जवाफमा ‘काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत वर्षौंदेखि ब्याल्यकमेलिङको धन्दा चलेको छ, जसको अध्ययन अन्तिम चरणमा पुर्‍याएको छु’ भन्ने धम्कीसमेत दिएका छन् ।

लामिछानेले पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिललाई चुनौती दिँदै भनेका छन्- ‘ढोंगीहरुको अग्रता रहेको काउन्सिलले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्न….. ।’

आफू पत्रकार भइनसकेको बताउने लामिछानेले आफ्नो लिखित जवाफमा सूचना विभाग माथिसमेत ‘थ्रेट’ गरेका छन् । उनले भावुक हुँदै सूचना विभागबाट अहिलेको अवस्थामा प्रेसपास समेत नलिने धम्की दिएका छन् ।

लामिछानेले जवाफी पत्रमा भनेका छन्- ‘अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु ।’

पत्रकारहरुको सम्पर्क निकायका रुपमा रहेका राज्यका नियामक निकायहरुलाई नै नमान्ने बरु दोबाटोमा जुत्ता पालिस गर्ने चेतावनी दिएका लामिछानेले आफू पत्रकार नभएको र कार्यक्रम सञ्चालक मात्रै भएको बताएका छन् । यद्यपि सूचना विभागमा न्युज २४ बाट बुझाइएको पत्रकारहरुको सूचीमा भने उनी स्थायी कर्मचारी रहेको जनाइएको छ ।

रवि लामिछानेले आफूसँग अमेरिकी पासपोर्ट रहेको जवाफी पत्रमा स्वीकार गरेका छन् । तर, त्यो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रोसेसमा रहेको उनले स्पष्टीकरण दिएका छन् ।

विगतमा नेपाली नागरिकतासमेत त्यागेर अमेरिका पलायन भएका उनले यसअघि दिएका स्पष्टीकरणहरुमा अमेरिकामा घर, गाडी इत्यादि खरिद गर्दा लागेको ऋण तिर्न बाँकी रहेकाले अमेरिकी नागरिकता र पासपोर्ट फिर्ता गर्न प्राविधिकरुपमा समय लाग्ने स्पष्ट पारेका थिए । आफ्नी श्रीमती र बालबच्चा उतै रहेको उनले स्पष्ट पारेका छन् ।

सरकारी कागजात के भन्छन् ?

रवि लामिछानेले प्रेस काउन्सिललाई लेखेको जवाफमा आफूले श्रम विभागबाट वर्क पर्मिट लिएको बताएका छन् । साथै उनले नेपालमा भिसा लिएर वैधानिकरुपमा विगत ४ वर्षदेखि काम गरिरहेको दाबी गरेपछि प्रेस काउन्सिलले यसबारे सूचना विभाग, सञ्चार मन्त्रालय, गृहमन्त्रालय र अध्यागमन विभागका साथै श्रम विभाग लगायतका निकायसँग पत्राचार गरेर बुझेको छ ।जवाफमा अध्यागमन विभागले ‘अमेरिकी नागरिक रवि लामेछानेले नेपालमा अवैधानिकरुपमा काम गरिरहेको’ लिखित जवाफ दिएको छ । श्रम विभागले पनि लामिछानेले श्रम स्वीकृति नलिएको जवाफ दिएको छ ।

लामिछानेको नेपाल बसाइ र काम गराइ अवैधानिक सिद्ध भएको भन्दै प्रेस काउन्सिलका अधिकारीहरु अब उनले कार्यक्रम सञ्चालनका क्रममा ब्ल्याकमेलिङ वा अबैध आय आर्जन गरे/नगरेको विषयमा अनुसन्धान गर्नतिर लागेको प्रेस काउन्सिल स्रोतले बुधबार जानकारी दिएको छ ।

भुतले खाजा खाइरहेको समय

रवि लामिछाने जतिबेला अमेरिकाबाट नेपाल फर्किए, यो उनका लागि अनुकूल परिस्थिति होइन ।

प्रहरीहरु नै सुन तस्करीमा संलग्न हुने, नेताहरु मानव तस्करीमा मुछिने, व्यापारीहरु कालो धन्दामा लाग्ने अनि टेलिभिजनमा अनुहार देखाएर भित्रभित्रै ब्ल्याकमेलिङ गर्ने विकृति नेपालमा मौलाएको अवस्थामा रवि लामिछाने अमेरिकाबाट नेपाल फर्किएको प्रतिकूल अवस्था हो उनका लागि ।

अमेरिकामा आफूले लिएको ऋण तिर्न अझै बाँकी नै रहेको लामिछानेले आफैं बताएका छन् । र, त्यो ऋण तिर्ने प्रक्रियामा अझै केही समय लाग्ने उनको अभिव्यक्ति छ ।

नेपाली मिडियामा काम गरेकै भरमा लामिछानेले अब अमेरिकी सरकारको ऋण तिर्न सक्लान् ? लामिछानेको आर्थिक आयआर्जनको स्रोत के हो ? प्रेस काउन्सिलका एकजना सदस्य भन्छन्- अरुको रौंचिरा खोतल्दै हिँड्ने लामिछानेको विषयमा जनमानसमा यस्ता प्रश्न उठ्नु अस्वाभाविक हुँदैन । र, यस्ता प्रश्न उठाउनेहरुलाई गाली नगरिकन लामिछानेले नम्र भाषामा जवाफ दिएको खण्डमा मात्रै उनले अमेरिकामा सभ्यता सिकेर आएका रहेछन् भनेर मान्न सकिन्छ ।

प्रेसपास भन्दा जुत्ता पालिसमा गर्व !

रवि लामिछानेले प्रेस काउन्सिललाई लेखेको जवाफमा ‘अहिलेको अवस्थामा सूचना विभागबाट प्रेस पास लिनुभन्दा यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए आफूलाई गर्व लाग्ने’ बताएका छन् । उनको यो अभिव्यक्तिले सूचना विभागलाई अकारण चुनौती दिएको छ । त्यतिमात्रै होइन, यो अभिव्यक्तिले प्रेसपास लिएर गर्वानुभूति गरिरहेका सक्रिय पत्रकारलाई समेत अपमानित गर्ने काम गरेको छ ।

तर, योभन्दा बढी लामिछानेको यो अभिव्यक्तिले सबैभन्दा ठूलो व्यंग्य उनीमाथि नै गरेको छ । अहिले सूचना विभागबाट प्रेसपास नलिने तर, फुटपाथमा बसेर जुत्ता पालिस गर्ने उनको बोलि कसरी कार्यान्वयन होला ? उनले जुत्ता पालिस ‘गर्न पाए’ भनेका छन् । अब उनले वर्क पर्मिट पत्रकारको लिन्छन् वा जुत्ता पालिस गर्ने को ? त्यो पनि हेर्न र रिपोर्टिङ गर्न नेपाली सञ्चारकर्मीहरु पक्कै लालायित हुनेछन् । अन्यथा नेपाली आहान छ- भुक्ने कुकुरले टोक्दैन ।

अमेरिकाबाट स्वदेश फर्केर पत्रकारिता गर्न पाएका लामिछानेलाई कसैले पनि सडकमा बसेर बुट पालिस गर्न नदिने र गर्वानुभूति गर्न नदिने प्रश्नै छैन ।

‘सडकमा बुट पालिस गर्न पाए वर्ग लाग्ने’ लामिछानेको भनाइले चिनियाँ साहित्यकार लु सुनको व्यंग्यको सम्झना गराउँछ । गरिब हुँदा र सडकमा पुग्दा गर्व महसुस हुन्छ भन्ने ढोंगीहरुलाई गतिलो जवाफ दिँदै लु सुनले भनेका छन्- ‘यदि गरीब हुनु सुखको विषय हुन्थ्यो भने धनीमानीहरु अस्ति नै गरीबलाई ठाउँ नै नरहने गरी सडकमा बोरा ओच्छ्याएर सुतिसकेका हुन्थे !’

लामिछानेको पक्षमा आएका तर्क

सामाजिक सञ्जालमा रवि लामिछानेको पक्ष र विपक्षमा दुबैखाले तर्क -वितर्कहरु आइरहेका छन् । कतिपयले लामिछानेलाई देवत्वकरण गर्दै उनको नामका अगाडि भगवान थप्नुपर्छ भनेर फेसबुकमा स्टाटस लेख्न भ्याएका छन् ।

नेपालमा जन्मिएको नागरिकलाई कम्युनिष्ट सरकारले विदेशी करार गर्न र अमेरिका डिपोट गर्न खोजेको आरोप लामिछानेका समर्थकहरुले लगाएका छन् । लामिछानेले भ्रष्टाचारीहरुलाई थर्कमान बनाएको र त्यही डरले उनीमाथि कानून लगाउन खोजिएको कतिपयको आरोप छ ।

रविजस्तो व्यक्ति राजनीतिमा आउनुपर्ने तर्क सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । र, आफूप्रति ‘ब्लाइन्ड सपोर्ट’ गरिरहेका तिनै समर्थकहरुको बलमा लामिछाने पनि राज्यका निकायविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन् ।

लामिछाने राज्यका निकायहरुलाई भ्रष्ट र खराब देखाउँदै तिनको पालना गर्नुभन्दा सडकमा जुत्ता पालिस गर्ने चेतावनी दिइरहेका छन् ।

अमेरिकामा धेरै कुरा सिकेर आएको बताउने लामिछानेका अभिव्यक्तिहरु सुन्दा यस्तो लाग्छ, उनले त्यहाँ सिक्न छुटाएको विषय हो- नम्रता र राज्यका कानूनहरुको परिपालना । उनले नेपालका पत्रकारहरुलाई ‘रक्सी र मासुमा बिक्ने’ जस्ता आरोप समेत लगाएका छन् । र, आफूमात्रै असल रहेको सिद्ध गर्ने प्रयास गर्दै आएका छन्, जुन उनीभित्र पलाएको अभिमान नै हो ।

त्यसो त सामाजिक सञ्जालमा रविको देवत्वकरणमात्रै भइरहेको छैन, उनको आलोचना र निन्दा पनि भइरहेको छ । राष्ट्रवाद, राष्ट्रियता अनि स्वच्छताको कुरा गर्ने रविले नेपाली नागरिकता त्यागेर किन अमेरिकी ग्रिनकार्ड लिए ? आफैं नेपाली नागरिकता त्याग्ने र सपरिवार विदेश भाग्ने अनि अहिले ठूलो कुरा गर्ने भन्ने जस्ता प्रश्न पनि उनीमाथि उठेका छन् ।

देशमा अरुलाई लाग्ने कानून रवि लामिछानेलाई पनि लाग्नुपर्छ र उनले पनि नियम र कानूनको परिधिमा बसेर काम गर्नुपर्छ भन्ने मत पनि सामाजिक सञ्जालमा पढ्न पाइन्छ ।

पत्रकारिता नै गरिसकेपछि पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्ने, अनि सूचना विभागबाट प्रेस पास वा अनुमतिपत्र लिएर मात्रै पत्रकारिता गर्नुपर्नेमा लामिछानेलाई त्यसो नगर्न छुट दिइनु नहुने तर्क पनि बहसमा आएका छन् ।

तर, नेपालमै जन्मेको मानिसले अमेरिकी पासपोर्ट र नागरिक त्याग्ने प्रक्रिया अघि बढाएको छु भन्दाभन्दै उनीमाथि डण्डा चलाइनु न्यायसंगत नहुने तर्क निकै बलियो गरी उठेको छ ।

लामिछानेसम्बन्धी बहसहरु हेर्दा यस्तो देखिन्छ कि अरुलाई नियम कानून सम्झाउने लामिछानेले नेपालमा आइसकेपछि यहाँको पत्रकारितासम्बन्धी कानूनलाई चुनौती दिनु र आफूलाई महान, अरु सबै खराब हुन् भन्नु उनको कमजोरी देखिन्छ ।

नेपालमा हल्लाका भरमा केही मानिसहरु लोकपि्रय देखिन्छन् र केही फण्डा गरेर बदनाम हुने गर्छन् । भनिन्छ, छिटो तात्ने चिज छिटै सेलाउँछ । विगतमा राष्ट्रवाद र नेपालको मायाको विषयमा कुरा गरेर वाहीवाही पत्रकारहरु देशमा बस्न सकिएन भन्दै सुटकेस बोकेर विदेश पलायन भएका उदाहरणहरु छन् ।

अरुलाई सुशासनको पाठ सिकाउने कतिपय पत्रकार बलात्कार केशमा थुनामा परेका उदाहरणहरु पनि छन् । त्यसैले टीभीका स्क्रिनमा ठूला कुरा गर्दैमा तिनलाई देवता नै ठानीहाल्ने पछौटे चेतनाको फाइदा हाम्रोजस्तो देशमा कतिपयले उठाउँदै आएको तीतो यथार्थ पनि छ ।

साथै एउटा सामान्य युवालाई नेपाल फर्केर केही गर्छु भन्दाभन्दै उनीमाथि ठूलै अपराधीलाई जस्तो गरी सिंगै राज्य संयन्त्रहरु परिचालित हुनु पनि राम्रो संकेत होइन ।

राज्यले गैरआवासीय नेपालीहरुलाई नेपालमा काम गर्न, उनीहरुको श्रम, सीप र लगानी भित्र्याउन प्रोत्साहन दिने नीति लिइरहेका बेलामा रवि लामिछानेलाई ‘बलीको बोको’ बनाउन खोज्नु न्यायसंगत कार्य होइन ।

तथापि लामिछानेले पत्रकार आचारसंहिता उल्लंघन गरेको वा कानूनको उल्लंघन गरेको भए उनीमाथि कारवाही हुनु अस्वाभाविक हुँदैन । अरुलाई लाग्ने कानून र नियम लामिछानेलाई पनि लाग्न सक्छ । गैरआवासीय नेपालीलाई पनि कानून लाग्छ । उनीहरुका हकमा पनि पत्रकार आचारसंहिता प्रभावित हुन्छ ।

source onlinekhabar.com

 

Comment from facebook

Top