बजेट विनियोजनसम्बन्धि स्थानिय तहका पदाधिकारीलाई तालिम

हुमाकान्त पोखरेल / जेष्ठ १३, २०७५ - आइतवार


गुल्मी । जिल्ला समन्यव समिति गुल्मीले जिल्लाका सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा लेखापालहरुलाई क्षमता अभिवृद्धिसम्बन्धि तालिम प्रदान गरेको छ । बजेट विनियोजनको समयमा स्थानिय तहलाई सहज पुग्ने उदेश्यले गाउँपालिका÷नगरपालिकाका सम्बन्धित पदाधिकारीहरुलाई प्रशिक्षण दिएको हो ।

समितिले आइतबार धुर्कोट, मदाने, मालिका र इश्मा गाउँपालिकाका पदाधिकारीहरुलाई मालिका गाउँपालिका ८ सिमलटारीमा प्रशिक्षण दिएको छ । प्रत्येक स्थानिय तहलाई दुई÷दुई दिनको तालिम प्रदान गरिएको छ ।

स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक प्रमख शशिन्द्र खाती, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम लगायतले प्रशिक्षण दिएको धुर्कोट गाउँपालिका प्रवक्ता कविता विकले जानकारी दिइन् ।

समन्वय समितिले रेसुङ्गा नगरपालिका र गुल्मीदरबार, छत्रकोट र रुरु गाउँपालिका, कालिगण्डगी र सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई भने यसभन्दा अगाडी नै क्षमता अभिबृद्धिसम्बन्धि तालिम प्रदान गरिएको छ । प्रशिक्षणमा योजना छनोटको तरिका, बजेट विनियोजन लगायतका विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै बजेट विनियोजन गर्दा स्थानिय तहले आर्थिक, सामाजिक, संस्थागत विकास लगायत विकासका पूर्वाधारलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा प्रशिक्षणकर्ताले जोड दिएका थिए । समन्वय समितिले अब छिट्टै दोस्रो चरणमा एकिकृत सम्पत्ति करसम्बन्धि पनि तालिम दिन लागेको जनाएको छ । नेपालमै पहिलो पटक एकिकृत सम्पत्ति करसम्बन्धि क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण दिन लागिएको समन्वय समिति प्रमुख लक्षमण पराजुलीले बताए ।

Comment from facebook

Top