रेसुङ्गा क्षेत्रको आगो नियन्त्रणबाहिर

६५ हजार फूलसहित वन्यजन्तुको अस्तित्व संकटमा

हुमाकान्त पोखरेल / फाल्गुन २९, २०७४ - मङ्लबार


गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गा क्षेत्रमा भीषण आगलागी भएको छ । रेसुङ्गा नगरपालिका १४ पराल्मीको फुलबारी सामुदायिक वनबाट शुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

साँझ ५ बजेबाट लागेको आगो अहिले भाडगाउँ तर्फ फैलिएको छ । जसका कारण एक सय ५० बढि गाई भएको रेसुङ्गाको गौशाला समेत उच्च जोखिममा रहेको रेसुंगा नगरपालिका ३ भाडगाउँका अध्यक्ष थम्मन केशीले बताए । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।

अहिले प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधी र केहि स्थानीयको आगोलागी क्षेत्रमा पुगेका छन् । तर आगो नियन्त्रण बाहिर गएको र रातको समय भएकाले नियन्त्रणमा समस्या भएको शसस्त्र प्रहरी निरिक्षक बासुदेव कुवंरले बताए । यद्यपी अहिले पनि आगो निभाउने प्रयास चलिरहेको छ ।

बनबाट लाभ लिने जनताले रमिता हेर्छन

ऐतिहासिक तथा रेसुंगा क्षेत्र तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यसका अधिकांश भू–भाग प्रत्येक बर्ष डढेलोले ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।

रेसुंगा क्षेत्रबाट बलिथुम, गौडाकोट, तम्घास, सिमीचौर र दुबीचौर, भाडगाउँ, पराल्मी, अर्खले लगायतका अधिकांश स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ उठाउने गर्दछन् । तर आगलागि जस्तो विपद् अवस्थामा पनि ति बासिन्दाले रमिता बनेर बस्ने गरेको सुरक्षाकर्मीहरुले बताउने गरेका छन् ।

प्रत्येक पटक आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशाला लगायतका महत्वपुर्ण मन्दिर र भौतिक संरचना जोखिममा पर्ने गरेको रेसुङ्गा संरक्षण समितिका पूर्व अध्यक्ष रुद्र बहादुर भुजेलले बताए । आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ ।

रेसुंगामा ऐतिहासिक मन्दिर, पौवालगायत संरचना रहेपनि प्रत्येक वर्ष लाग्ने आगोको कारण बचाउन मुस्किल परेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले बताए ।

आगलागिबाट खानेपानीको समस्या

लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउने समस्या रेसुङ्गामा पनि छ । धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ । जिल्लाका धेरै गोष्ठिहरुमा रेसुङ्गा क्षेत्रलाई प्रयोग गरेर मनग्य पर्यटक ल्याउने बिषयमा छलफल भएपनि ठोस निकास आउँदैन ।

रेसुंगाको मुहानको पानीबाट वरिपरिका एक दर्जनबढी साविकका गाविस र करिब ३१ किमि टाढा वलेटक्सार सम्मका ७० हजार बढी जनता आश्रित रहेको भए पनि जंगल नष्ट हुँदै जाँदा खानेपानीको समस्या पर्न थालेको स्थानीय ओम बहादुर थापा क्षेत्रीले बताए ।

६५ हजार प्रकारका फूलसँगै बन्यजन्तुको अस्तित्व संकटमा

रेसुङ्गामा ६५ हजार प्रकारका फूल फूल्ने प्रजातिका वनस्पति, एक हजार आठ सय २२ प्रजातिका ढुसी, चार सय ६५ प्रजातिका झ्याउ, छ सय ८७ प्रजातिका एलगी पाइन्छन् ।

त्यस्तै ६२ प्रजातिका चरा, छ सय ४० प्रजातिका पुतली, छ हजारभन्दा बढी प्रजातिका मछाहरु, एक सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, एक सय ४४ प्रकारका माकुराहरू, एक सय ८१ प्रकारका स्तनधारीहरू र अन्य किटपतंगहरू पाइने रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक नरेश भण्डारीले बताए ।

जैविक विविधताको धनी रेसुंगामा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरे पनि अहिलेसम्म आगो लगाउनेलाई प्रशासनले पक्राउ गर्न सकेको छैन ।

Comment from facebook

Top