गुल्मीमा ८८ जना विद्यार्थी एसईइ परीक्षा दिनबाट बञ्चित हुने

एकता न्यूज / फाल्गुन २९, २०७४ - मङ्लबार


 गुल्मी आउँदो चैत ८ गतेबाट २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गुल्मी जिल्लाबाट ८८ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने भएका छन् ।

बञ्चित हुने विद्यार्थीहरु मध्ये ७५ प्रतिशत हाजिरी नपुगेका र अन्य केही विद्यार्थीहरु विभिन्न कारणले विद्यालय छोडेका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले बताउनुभयो ।

गएको वर्ष पनि जिल्लामा १ सय १७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए । यस वर्ष गुल्मी जिल्लाबाट नियमित तर्फ ४ हजार ८ सय ८८ जना विद्यार्थीहरुले माध्यामिक शिक्षा परीक्षा एसईई दिँदैछन् ।

एक्जाम्टेड तर्फ ६८ जना र प्राविधिक तर्फ ९७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

Comment from facebook

Top