घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली प्रहार

एकता न्यूज / फाल्गुन २८, २०७४ - सोमवार


कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी माथि सोमबार राती गोली प्रहार भएको छ । आफ्नै निवासमा बसिरहेको अवस्थामा राति ८ बजेर १० मिनेटतिरको समयमा अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।

उनको छातीमा गोली लागेको बताइन्छ । मेयर चौधरीलाई उपचारका लागि नेपालगंज लग्ने तयारी भइरहेको छ । प्रहरी टोली घटना स्थल पुगिसकेको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले आफू पनि घटना स्थल गईरहेको जानकारी दिए ।

अन्तराष्ट्रिय नारी दिवसको दिन त्यही नगरपालिकाकी स्थानीय राधा चौधरीलाई वोक्सीको आरोपमा कुटपिट गरेको घटनापछि मेयर चौधरीको चौतर्फि आलोचना भईरहेको थियो । उनको पार्टी नेकपा एमालेले समेत उनीमाथि छानविन थालेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Comment from facebook

Top