नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

एकता न्यूज / फाल्गुन २८, २०७४ - सोमवार


काठमाडौं – विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ ।

सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा हुनबाट बच्ने सम्भावना रहृयो ।

पहिलो जितसँगै नेपाल समूहको चौथो स्थानमा रहृयो भने हङकङ समूह बीको पुछारमा रहृयो ।

रोहित र सोमपालको उत्कृष्ट साझेदारी

१५४ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात औषत रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ४१ रनको साझेदारी गरे । अनिल २६ रनमा आउट भए । त्यसपछि लगातार तीन विकेट गुमायो ।

मल्ल १२, पारस ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ६६ रन थियो ।

तर, रोहित र सोमपालले अविजित ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहित ४८ रनमा अविजित रहँदा सोमपालले नटआउट ३७ रन बनाए ।

हङकङले जितेको थियो टस

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो ।

ओपनिर निजाकत खानले टिकेर देखेपनि अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । बाबर हायात मात्र २० र अंशुमान रथ मात्र १ रनमा आउट भएका थिए ।

खानले ४७ रन बनाए ।

नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २-२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १-१ विकेट लिए ।

प्ले अफ पपुवा न्यूगिनीसँग

हङकङमाथिको जितसँगै नेपाल समूह बीको चौथो स्थानमा उक्लिएको छ र अब प्ले अफमा पपुवा न्यूगिनीसँग खेल्ने भएको छ । यो खेल बिहीबार हुनेछ ।

हङकङले समूह एको चौथो स्थानमा रहने टिमसँग खेल्नेछ । यो यूएई र नेदरल्याण्ड एकसँग खेल्नेछ ।

ओडीआई स्टाटसको सम्भावना

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले ओडीआई स्टाटस पाउनेछ भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछ ।

स्कटल्याण्ड र यूएईले सुपर सिक्समा मात्र स्थान बनाएको छ । यससँगै दुबै टिमले ओडीआई स्टाटस पाउने पक्का भएको छ । अब ओडीआई स्टाटसका लागि एक सिट बाँकी छ ।

यदि सोमबार नेपाललाई हराएको भए हङकङ सुपर सिक्समा पुग्थ्यो र तीन टोली शीर्ष एसोसिएट देशले पाउने ओडीआई स्टाटस उसले पनि पाउने थियो ।

यस्तो अवस्थामा पपुवा न्यूगिनी र नेपाल प्ले अफ अघि नै डिभिजन टूमा घटुवा हुने थिए ।

तर, अब एउटा सम्भावना अझै छ । नेपालसँगै पपुवा न्यूगिनी र हङकङ मध्ये एक देशले ओडीआई स्टाटस पाउनेछ । यसका लागि प्ले अफमा राम्रो खेल्नुपर्नेछ ।

Comment from facebook

Top