अखिल क्रान्तिकारी गुल्मीको जिल्ला सम्मेलन स्थगित

हुमाकान्त पोखरेल / फाल्गुन १६, २०७४ - बुधबार


 

गुल्मी । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारी जिल्ला समिति गुल्मीको भेला स्थगित भएको छ । फागुन १४ बसेको विद्यार्थी संगठनको जिल्ला समितिको वैठकले यहि फागुन १८ गर्ने भनिएको जिल्ला सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेकोले एकताको स्वागत गर्दै सम्मेलन स्थगित गरिएको संगठनले जनाएको छ । ‘वैज्ञानिक एवम् समाजवादी शिक्षा र सुदृढ संगठनका लागि १८ जिल्ला सम्मेलन’ यहि फागुन १८ र १९ गते सदरमुकाम तम्घासमा गर्ने निर्णय गरेको थियो ।

सम्मेलन तयारीका लागि संगठनले क्षेत्र नम्बर एकमा १२ र क्षेत्र नम्बर २ मा १० विद्यालयमा कमिटी समेत गठन गरिसकेको थियो । मंगलबार संगठनका जिल्ला संयोजक भरत चन्दद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । अब संगठनले कुनै पनि क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तारका कार्यहरु स्थगित गर्ने निर्णय गरेको छ ।

त्यसका साथै अखिल क्रान्तिकारी जिल्ला समिति मातहतका सम्पूर्ण कमिटी र सम्बन्धित सबैलाई एकताप्रती सृजनात्मक एवम् रचनात्मक सुझावको पनि अपेक्षा गरेको विज्ञप्तिमा जनाइएको छ ।

Comment from facebook

Top