सुरक्षित महिनावारी अभियन्ता खड्का सम्मानित

एकता न्यूज / फाल्गुन १२, २०७४ - शनिबार


गुल्मी ः सुरक्षित महिनावारीको अभियानमा लामो समयदेखि क्रियाशिल गुल्मीकी गंगा खड्का सम्मानित भएकी छन् । महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय इस्मा गाउँपालिका घोषणा कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको हो । गाउँपालिकालाई महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा गर्न र देशभर अभियान मार्फत सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर विष्टले खड्कालाई सम्मानपत्र प्रदान गरे । गाउँपालिकाभित्र रहेका १९ वटा निमावी र मावीहरुका छात्राहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको थियो । करिव १ हजार ४ सय जना छात्राहरु कार्यक्रमबाट प्रत्यक्ष लाभांवित भएको गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले जानकारी गराइन ।

छात्राहरुलाई महिनावारी भएको समयमा अपनाउनुपर्ने सावधानी, सामग्रीको सुरक्षित प्रयोग, विद्यालयले छात्राहरुलाई महिनावारी भएको बेला गर्नुपर्ने सावधानी र समाजमा अझैपनि कायम रहेको महिनावारीप्रतिको नकारात्मक सोँचाइको परिवर्तन लगाएत विषयमा सेवा संचार(सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल)का अध्यक्ष समेत रहेकी खड्काले अभिमुखीकरण गराएकी थिइन् ।

विद्यालयमा संचालन गरिएको कार्यक्रम पश्चात छात्राहरुको नियमित उपस्थिती, सम्वद्ध(फोकल) शिक्षिकासँग आफ्ना समस्या राख्ने बानीको विकास र विद्यालयमा सेनेटरी प्याडको नियमित व्यवस्था भएको छ । चालु आर्थिक वर्षमा विद्यालयलाई घोषणा गरिएको जानकारी गराउँदै गाउँपालिका अध्यक्ष विष्टले आगामी वर्ष समुदायस्तरमा गरिने समेत योजना सुनाए ।

छात्राहरुको प्रजनन् स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुँदा सुरक्षित महिनावारी सम्वन्धी कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार पोख्रेलले बताएका छन् । कार्यक्रम पश्चात विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण टेवा पुग्ने समेत उनले विश्वास व्यक्त गरे ।

२०७० साल फागुन १५ गतेदेखि मालिका गाउँपालिका–५ छापहिलेबाट शुरु गरिएको अभियान हाल चार जिल्लामा नियमित संचालन भइरहेको छ । गुल्मीमा केन्द्रिय कार्यालय स्थापना गरी पाल्पा, सुर्खेत र वैतडीमा सेवा संचारले महिनावारीमैत्री अभियानहरु अघि बढाएको छ । नेपाली समाजमा अझैपनि महिनावारीलाई ‘हाउँगुजी’जस्तै सम्झने सोँचलाई व्यवहारतः परिवर्तन गराउने अठोटले अभियानको थालनी गरिएको अभियन्ता गंगा खड्काले बताइन ।

‘महिनावारी महिलालाई प्रकृतिले दिएको अनुपम वरदान हो’,खड्काले भनिन्,‘महिनावारीको चक्र नभए कसरी यो श्रृृष्टि चल्थ्यो होला ?’ अभियान संचालनपछि धेरै महिला एवं छात्राहरुले आफ्नो समस्या खुलेरै राख्ने गरेका छन् । देशभरमै पहिलोपटक आफूले यस अभियानको थालनी गरेको समेत उनले दावी गरिन् । संस्थाकै पहलमा यसअघि देशकै महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त जिल्ला प्रहरी कार्यालय गुल्मी समेत घोषणा गरिसकिएको छ ।

पत्रकारीता क्षेत्रमा समेत क्रियाशिल खड्काले अभियानलाई देशव्यापी रुपमा संचालन गर्ने योजना बनाएकी छन् । हाललाई पहिलो चरणमा स्कुल स्कुलमा पुगेर छात्राहरुलाई अभिमुखीकरण गर्दै आएको उनले जानकारी गराइन । जिल्लाका अन्य स्थानीय तहले समेत संस्थासँग सहकार्य गरेर कार्यक्रम गर्ने आश्वासन दिएको उनले जानकारी गराइन । सवै स्थानीय तहमा कार्यक्रम गरिसकेपछि गुल्मी जिल्लालाई नै घोषणा गर्ने योजना रहेको खड्काले बताइन ।

Comment from facebook

Top