जति फन्का घुमे पनि पुग्ने धुम्बाराही हो, एकता हुनैपर्छ : झलनाथ खनाल

एकता न्यूज / माघ २५, २०७४ - बिहिबार


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्ने अभिव्यक्ति दिएका हुन् ।

‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । र, व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’ – बुधबार राति खनालले एउटा निजी टेलीभिजनलाई   अन्तरवार्ता दिँदै एमाले नेता खनालले भने ।

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन् ।

‘त्यतिबेला आधा माओवादी भन्नेहरु अहिले त्यही ठाउँमा आइपुगेका छन्’ खनालले भने, ‘०६२/०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ । मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ, ढीलो नै होस् तर जति फन्का घुमे पनि हामीले पुग्ने ठाउँ धुम्बाराही नै हो ।’

विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त देखिए ।

नेता खनालले भने- ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’

Comment from facebook

Top