यसरी चिन्न सकिन्छ झूठा समाचार, जो सामाजिक सञ्जालमा आउँछन

जगन कार्की / माघ ९, २०७४ - मङ्लबार


लण्डन — ‘फेक न्यूज’ (गलत समाचार) दिनु कसैको स्वार्थमा हुन सक्छ, त्यो भन्दा खतरनाक कुरो सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर शेयर गर्नु, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्नु, तिब्र प्रतिक्रिया दिनु हो । यस्तो क्रियाकलापबाट जोगिनका लागि समाचार सही हो की गलत थाहा पाउनु पर्दछ ।

गत २७ नोभेम्बरमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाले उनको दुष्प्रचार गरेको र गलत समाचार सम्प्रेसन् गरेको भन्दै ‘फेक न्यूज’ अवार्ड दिनुपर्ने बताए।

त्यसपछि फेरी १७ जनवरीमा फेक न्यूज अवार्ड दिने भन्दै उनको अर्को ट्वीट आयो र दश वटा समाचारलाई झुठा समाचारको लिष्ट बनाएर फेक न्यूजको पुरस्कार जित्नेहरु भनेर रिपब्लिकन पार्टीको वेबसाइटबाट ट्रम्पले ट्वीट गरे।

उसो त उनले चुनाव जित्नुमा पनि रसियाका खुफिया एजेन्सीहरुले सामाजिक सञ्जालमा निरन्तर फेक (गलत) जानकारी प्रसार गरेका मिडिया क्याम्पेनहरुको हात रहेको आरोप नलागेको हैन।

बेलाबखत ट्रम्प र उनको टिम धेरै चलाख र शक्तिशाली भएर मिडियालाई झुठो र कपोलकल्पित भनेर निरन्तर आरोप लगाउने गरेका प्रसंगले केहि गलत प्रवृतिलाई प्रोत्साहन गरिरहेको र सचेत तथा सच्चा मिडियाकर्मीहरुको मानमर्दन भएको प्रसङ्ग पनि उठ्ने गरेका छन्। ट्रम्पले जस्तै मिडियालाई आरोप बर्माका राष्ट्रपतिले पनि रोहिन्गीया समुदायको सम्बन्धमा लगाएका छन्।

भलै ट्रम्पले आफ्नो स्वार्थ र बदलाको भावले भनेका हुन् यसलाई सकारात्मक रुपमा हेर्दा अब बिश्वासिलो माध्यमबाट बिश्वासिलो समाचार पढ्न, हेर्न पैसा तिर्नुपर्ने जमाना त आउने हैन भन्ने प्रश्न पनि गर्न थालिएको छ। ट्रम्पको फेक न्युज प्रपोगान्डाको सन्दर्भमा अब हुने २०१८ को अमेरिकी मध्यावधि चुनावमा फेसबुक, ट्विटर, युट्युव र गुगलको कदम कस्तो होला भन्ने पनि चासोको विषय बनेको छ।

यस्तै हालत थियो, बेलायतको ब्रेक्जिट जनमत संग्रह र दुई वटा चुनावको बखत पनि। ब्रेक्जिट भोटमा रसियाको खुफिया एजेन्सीले फेसबुकमार्फत सूचना र समाचार सम्प्रेसण गरेर प्रभाव पारेकोमा फेसबुक मुकदर्शक भएको आरोप लगाइएको छ। यस सम्बन्धमा फेसबुकले मुद्दा झेलिरहेको अवस्था छ।

त्यस्तै आमचुनाव ताका मौन अवधिमा पनि फलानो पार्टीलाई भोट हाल भनेर फेसबुक ट्वीटर वा युट्युवमार्फत आउने बिज्ञापन रोकिएनन्। अर्कोतिर मिडियाको प्रभाव बारे हलचल नै रहने गरेको छ बेलायतमा, बिश्वभर रहेका अधिकांश ठुला मिडियाका मालिक रुपर्ट मर्डकले जसलाई साथ दियो उसले चुनाव जित्ने गरेको भन्नेसम्मका आरोपहरु सुन्नमा आउने गरेका छन्।

हुन पनि उनले १९६८ मा बेलायतको मिडियामा लगानी गरेर छिरेदेखि जसलाई समर्थन गरे, उसले चुनावमा बाजी मार्ने गरेको संयोग भेटिन्छ। १९८० ताका मार्गरेट थ्याचरको समर्थनमा उनको मिडिया चल्ने गर्थे भने पछि लेबर पार्टीलाई समर्थन गरे, अनि टोनी ब्लेयर प्रधानमन्त्री बने। गोर्डन ब्राउन पछि लेबर छोडेर फेरी कन्जरभेटिभका डेभिड क्यमरोनलाई समर्थन गरे, क्यामरोनले नै चुनाव जिते।

मोदी युग भारतमा सुरुहुने ताका पनि मिडिया र सामाजिक सञ्जालमा गुजराती सफ्टवेर एक्पर्टहरु लागेर एक से एक ट्रोलिङ र क्याम्पेन गरिएको घटनाहरु सार्वजनिक नभएको होइन। जुन कुरा भारतीय मुलधारे मिडियाले बोल्न खोतल्नसम्म सुकेन। विभिन्न नागरिक अभियानहरुको उदय र ठुला उथलपुथलमा मिडियाको भूमिका रहने गरेका प्रशस्त उदाहरणहरु छन्।

नेपालको सन्दर्भमा मिडियाले अमेरिका वा बेलायतको जस्तो प्रभाव पार्ने तत्काल सम्भावनाहरु नदेखिए पनि गलत समाचार र गलत विचारहरु कुनै निश्चित मिसन राखेर विभिन्न अनलाइन समाचार माध्यमहरुमार्फत आउने परिपाटी भने खतरनाक देखिएको छ। त्यसैगरी कसैलाई होच्याउने वा बदनाम गर्ने हेतुले आउने गलत समाचारहरु रातारात सामाजिक सञ्जालमा फैलिएर विभिन्न आपरधिक घटना हुने गरेको उदाहरणहरु पनि छन्।

कसैको राजनीतिक तथा व्यक्तिगत अभिस्ट पुरा गर्नका लागि प्रकाशित कपोलकल्पित समाचारहरुले नेपाली समाजमा बिद्यमान चेतना स्तर र ‘कागले कान लगेको हल्लामा बहकिने’ मनोबिज्ञानसंग भने गतिलोसंग खेल्ने गरेको पाइन्छ। अझ खतरा त थोरै पैसा तिरेपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामा समाचारहरु नै धेरै माझ पुग्ने गरि बुस्ट गर्न मिल्ने परिपाटी छ।

उमेर, लिङ्ग र इच्छा अनुसारका व्यक्तिहरुको फोन वा कम्पुटरसम्म त्यसरी पुग्ने समाचारले चाहेको ठाउँ र व्यक्तिसम्म तिब्र प्रभाव पार्ने गर्दछ। त्यसैगरी सामाजिक सञ्जाल र अनलाइन मिडियाका आकर्षक ब्यापारिक सामग्रीले बजार तताउन थालेका छन्। यसमा अत्यन्त सजक हुनुपर्ने अवस्था छ।

एक ताका ऋतिक रोशनने नेपाल भारतमा पर्छ भन्ने अभिव्यक्ति दिए भन्ने समाचारले ठुलो तहल्का मच्चाएको थियो। हल्लाले अराजकताको रुप लिंदा केहिको ज्यान पनि गयो। एक पटक नेपालको ठुलै मिडियाले बुद्ध भारतमा जन्मिएको भन्ने कुरा छापेकोमा हंगामा भएको थियो। भुकम्प ताका भुकम्प आउने भन्दै कयौं गलत समाचार आएर मानिसहरु त्रास र आशको मानसिकतासंग खेलवाड गरेका थिए।

अमेरिकाको फेव रिसर्च सेन्टरको एक अध्ययनले ६३ प्रतिशत मानिसहरुले समाचार फेसबुक मार्फत हेर्ने गरेको तथ्य सार्बजनिक गरेको थियो। यसलाई नेपालको परिपेक्षमा तुलना गर्ने हो भने हाल ९०% को हाराहारीमा मानिसहरु फेसबुकबाट समाचार हेर्ने चलन देखिन्छ। फेसबुकमा जो कोहिले समाचार बनाउन र सेयर गर्न सक्ने भएकोले गलत समाचारहरुको ठुलो माध्यम बन्ने गरेको छ।

हिजोआज हावादारी अनलाइनमा कहिले बिनोद चौधरीको मृत्यु, कहिले केपी ओलीको दुर्घटनामा मृत्यु, कहिले फलानो राष्ट्रपति हुने पक्का, बाम गठबन्धनको तोडियो, चाइनाले बनाइदिएको, भारतको यस्तो चाल, चाइनाको उस्तो भन्ने खबर दैनिक रुपमा आउने गरेका छन्।

यसरी गलत समचार बनाउनेहरुको अभिप्राय या त अनौठो कुरा देखाएर धेरै सेयर गराउने र आफ्नो साइट वा बिज्ञापनको प्रचार गर्नु या आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ अनुसारको खबर सम्प्रेसण गरेर सबैको ध्यान आफु तिर तान्नु, माहोल सिर्जना गर्नु, अरुको बदनाम गर्नु वा मानिसहरुको ध्यान अन्यत्र मोडेर आफ्नो अभिष्ट पुरा गर्नु रहने गरेको छ।

त्यस्तै अपराधी र ठगहरुले पनि आफ्नो स्वार्थ अनुसार यस्ता समाचार बनाउने, झुठोलाई साँचो, साँचोलाइ झुठो, कालोलाई सेतो र सेतोलाई कालो भनि आममानिसहरुका भावनासंग खेलवाड गर्ने परिपाटी रहेको देखिन्छ। यसमा सबैभन्दा भन्दा खतरनाक कुरा भनेको सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर सेयर गर्ने, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्ने, तिब्र प्रतिक्रिया दिने समुह हुने गरेको विभिन्न खोज अनुसन्धानले देखाएको छ।

सामाजिक सञ्जालमा मानिसहरुको मनोबिज्ञान बुझेर फेसबुकको सेयरिंग अल्गोरिथम बुझेर चलाइने प्रपोगान्डा समाचारदेखि अब त भिडियोमा बोलेका आवाजसम्म नक्कली आउने गरेका छन्।

भ्वाइस ओभर प्रबिधि प्रयोग गरि मुखको चाल अनुसार शब्द निकालेर व्यक्तिले बोलेका भिडियोका सन्देश पनि नक्कली बनाउन मिल्ने भएपछि अब झुठो समाचारको युगमा संसार प्रवेश गरेकै हो त? भनि गत महिना बेलायतको प्रसिद्ध पत्रिका गार्डीयनले भिडियोसहित समाचार प्रकाशित गरेको थियो।

यि यावत परिदृश्य र घटना चक्रले सामाजिक सञ्जाल र अनलाइनमा आएका समाचार तथा सूचनालाई भरपर्दा २/३ वटा स्रोतहरुसंग तुलना नगरी नबुझी सेयर गर्ने कमेन्ट गर्ने र धारणा बनाउने कामबाट सबै सजग हुनुपर्ने देखिन्छ।

राज्यका संबेदनशील अंग, जातीय, धार्मिक, क्षेत्रीय भवनामा आँचा आउने, बिखण्डनमा मद्दत गर्ने सामग्रीहरुप्रति जिम्मेवार अंगहरु चनाखो रहन सख्त जरुरी भइसकेको छ। महिला, बालबालिका, बिद्यालयका बिद्यार्थीहरुमा भइरहेको प्रभाव बारे अब नजिकबाट नियालेर उचित सावधानी अपनाउने बेला भएको छ।

कही गलत सूचना वा समाचार फेला परे तुरुन्त भर्त्सना र त्यसको खण्डन गरेर अझ सके सम्बन्धित निकायमा उजुरी गरेर त्यस्ता क्रियाकलापहरुलाई निरुत्साहित गर्न कोशिस गर्नु पर्ने भएको छ।

कसरी चिन्ने झुठा समाचार?

अन्तर्राष्ट्रिय पुस्तकालय संघले झुठा समाचार चिन्ने ६ वटा तरिका सुझाएका छन् :
१. समाचारको स्रोत हेर्ने : समाचारको स्रोत कपोकल्पित छन्, भ्रामक छन् वा हावादारी छन् भने त्यसलाई विश्वास नगर्नुस्।
२. लेखकको स्तर र नाम जाँच गर्ने : लेखकका नाम छद्म भेषका छन् वा कहिल्यै नसुनिएका छन्। तिनलाई सामाजिक सञ्जालमा भेटिने नभेटिनेले पनि समाचार साँचो झुठो पत्ता लाग्ने गर्दछ।
३. समाचारको मिति चेक गर्ने : पुराना समाचारले पनि कहिले कहिं बजार तताएका हुन्छन् सन्दर्भ र मिति जाँच गर्न आवश्क छ।
४. समाचारलाई प्रमाणदिने आधारका लिंक र साइटहरुको जाँच : समाचारलाई कुनै हावादारी लिंक र प्रमाणको आधार बनाइएको भए त्यसलाई हेर्नुपर्छ।
५. कसैले रमाइलोको लागि जोक गरेको पनि हुन सक्छ : कसैले रमाइलोको लागि गाइजात्रे समाचार बनाएको हुन सक्छ एक दम गम्भीर वा हास्यास्पद भए चेक गर्नुपर्छ।
६. आफ्नो अन्तरआत्मालाई सोधेर विश्वासको आधार तय गर्ने : बिश्वास नै गर्न नसकिने भए सोचविचार गरेर राम्रोसंग जाँच गरेर मात्र भरपर्न जरुरी छ।
७. बिशेषज्ञहरुको सल्लाह : आफ्नो स्रोत र ज्ञानले नभ्याय बिशेषज्ञहरुको सल्लाह लिन सकिने।
८. अन्य मिडियाले सो समाचार राखेका छन् कि छैनन् चेक गर्ने : एउटामात्र मिडिया वा साइटमा समाचार आएको भए शंका गर्न सकिने ठाउँ हुन्छ।
९. मिडियाको स्तर र दर्ता र ठेगाना : मिडियाको विश्वसनियता दर्ता, संलग्न व्यक्तिहरु र स्थापनाले पनि दिने गर्दछ।
उलेखित कुराहरुलाइ मध्यनजर गर्दै झुठो समाचारलाई चिन्न र निरुत्साहित गर्न सकिने देखिन्छ। झुठा समाचारलाई लाइक, कमेन्ट र सेयर गर्ने भन्दा तिनलाई निरुत्साहित गर्न खण्डन गर्ने वा सम्बन्धित निकायलाई सजक गराइदिन सके झुठा समाचारमार्फत आफ्नो अभिष्ट पुरा गर्न लालायितहरुलाई रोक्न सकिन्छ। (बेलायतमा व्यापार प्रशासनमा बिद्याबारिधिरत कार्की सामाजिक सञ्जाल तथा व्यापार प्रवर्द्धनमा दक्षता राख्छन्)

Comment from facebook

Top