गगनथापाको रहर मुख्यमन्त्री बन्ने

एकता न्यूज / असोज २६, २०७४ - बिहिबार


काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता गगन थापाले आफूलाई प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न पार्टीसमक्ष आग्रह गरेका छन् ।

एक टेलिभिजनलाई अन्तर्वाता दिँदै थापाले मुख्यमन्त्री बन्ने आफ्नो इच्छा व्यक्त गरेका हुन् ।

थापाले आफ्नो कुरा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई राखेको जानकारी दिएका छन् ।

उनले भने, ‘तीन नम्बरको जिम्मा मलाई दिनुस् । मलाई भन्दिनुस् पार्टीले । हाम्रो पार्टीले जित्यो भने, गगन थापा मुख्य मन्त्री हुन्छ भन्दिनुस् । मलाई जिम्मा दिनुस् । हामी यहाँ कमजोर अवस्थामा छौ ।’

उनले नेपाली कांग्रेसले सात वटै प्रदेशको मुख्यमन्त्री यो हुन्छ र यो प्रदेशमा हामी जित्यौं भने यो गर्छौँ भनेर एजेण्डासहित जानुपर्ने कुरा पनि राखे ।

पूर्व मन्त्रीसमेत रहेका थापाले आफू यो ‘रिक्स’ लिन तयार रहेको बताउँदै देउवालाई मौका दिन आग्रह गरेको खुलासा गरे ।

‘म हारें, म एक सानो ठाउँमा खुम्चिएर बस्नुपर्छ ।  मैले पार्टी जितउन सकें भने बल्ल मैले मौका पाउँछु । रिक्स त मैले लिएको हुँ नी । भनने कुरा मैले पार्टी सभापतिलाई भनेको हुँ,’ थापाले भने, ‘अब मलाई दिनुहुन्छ दिनुहुन्न थाहा छैन ।’

पार्टीले आफूलाई मुख्यमन्त्रीको उम्मेदवार नबनाए काठमाडौँको क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने उल्लेख गरे ।

थापाले यसअघि आफू काठमाडौंको मेयर बन्ने कुरा बाहिर साथीहरुले अनुमानका आधारमा गरेको पनि स्पष्ट पारे ।

Comment from facebook

Top