अत्यधिक टाउको दुख्ने समस्या माइग्रेन कुन अवस्थामा हुन्छ, उपचार के ?

एकता न्यूज / असोज २१, २०७४ - शनिबार


माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । भनिरहेका हुन्छन्, ‘सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन !’ यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ।

पुरुषभन्दा महिलामा बढी

माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न शोध–अनुसन्धान अनुसार करिब तीन महिलालाई माइग्रेन हुँदा एक पुरुषमा मात्र यो रोग देखा पर्छ । किनभने महिलाको हर्मोनमा परिवर्तन ज्यादा हुन्छ । महिनावारीको अघिपछि टाउको दुख्ने समस्या आइलाग्छ । पिल्स लगायत अस्थायी परिवार नियोजनका औषधि सेवन गर्ने वा रसायनयुक्त साधन प्रयोग गर्नेहरूलाई माइग्रेनको सम्भावना बढी हुन्छ।

भोको पेट बसिरहने, व्रत बस्ने र धेरै समय अनिदो रहने मानिसलाई पनि माइग्रेनको जोखिम हुन्छ । त्यसैले हामीले भनिरहेका हुन्छौं कि, माइग्रेनका बिरामीले दैनिक ६ देखि ८ घन्टा सुतेको हुनुपर्छ । राति काम गर्ने मानिसहरू पनि माइग्रेनका सिकार हुने सम्भावना उच्च रहन्छ । तनावपूर्ण जीवनयापन गर्ने, धेरै सोच्नुपर्ने, मानसिक काम गर्नुपर्नेलाई माइग्रेन बढी भएको पाइन्छ।

माइग्रेनका लक्षण

माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एक पटक दुख्न सक्छ, कसैलाई दुई पटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग (अधाहा) भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ।

कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई बान्ता समेत हुने र कसैलाई बान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ।

माइग्रेन दुई प्रकारको हुन्छ— विथ औरा र विद्आउट औरा ।

२०–३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूर्वसंकेत बिनै पनि माइग्रेन हुन्छ ।

कतिपय बिरामीलाई कुनै गन्धका कारण टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ । उज्यालो हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा दुई घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले पनि काम गर्दैन।

उपचार

खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्या समाधान गर्न सघाउ पु¥याउँछ । परिवारका सदस्यले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ।

माइग्रेनको जोखिमयुक्त क्षेत्रमा काम गर्नेहरूको सुरक्षामाथिको सम्बोधन महत्त्वपूर्ण हुन्छ । खाद्यान्न, पोषणजस्ता कुराले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ । ‘फर्मेन्टेड’ खाना जस्तैः दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन । माछा–मासु नखाँदा राम्रो । अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ । जंकफुडहरू खानु हुँदैन । तनाव व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित ध्यान र योगा गर्नुपर्छ ।

हामीले माइग्रेनका बिरामीका लागि ‘माइग्रेन थेरापी’ भनेर प्रोटोकल बनाएका छौँ । दुखाइ कम गर्नका लागि ‘स्काप अकुपञ्चर’ विधि अपनाइन्छ, जसलाई वाइएनएसए भनिन्छ । यो विधिअन्तर्गत शरीरका केही विन्दुमा प्रेसर गरेर दुखाइ कम गरिन्छ । जुन विन्दुले मस्तिष्कलाई आनन्द महसुस गराउने हर्माेन निकाल्छन्, ती विन्दुमा अकुपञ्चरको माध्यमबाट प्रेसर दिइन्छ । माइग्रेन निको पार्न बाहिरबाट रासायनिक पदार्थ नदिइने भएकाले ‘साइड इफेक्ट’ कम हुन्छ ।

माइग्रेनलाई बढावा दिने अरु पक्ष पनि हुन्छन् । कसैलाई गर्दन दुख्नासाथ टाउको दुख्न थालिहाल्छ । आँखाको समस्याले पनि टाउको दुख्छ । पिनास रहेसम्म माइग्रेन निको हुँदैन । माइग्रेन निको हुन समय लाग्छ ।

प्राकृतिक पद्दतिबाट गरिने उपचार भनेको ‘असारमा धान रोपेर मंसिरमा पाके’झैँ हुन्छ । यसको आफ्नै चक्र हुन्छ । त्यसैले अकुपञ्चर प्रविधिबाट माइग्रेन निको पार्न एकदेखि तीन हप्तासम्म लाग्न सक्छ । बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन पूर्णतः निको हुन्छ ।

विशाल श्रेष्ठ, मेडिकल अकुपञ्चरिस्ट

Comment from facebook

Top