स्पेनका राजाले क्याटलान नागरिकलाई बेवास्ता गरे : क्याटलान नेता

एकता न्यूज / असोज १९, २०७४ - बिहिबार


क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान गनागरिकको बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको छ ।

टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाउनुभएको हो । नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउँदो हप्ता क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने संकेत गर्नुभयो ।

स्पेनका राजा फेलिपे छैटौंले मंगलबार राति टेलिभिजन सम्बोधनको क्रममा जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताउनुभएको थियो । क्याटालोनिया संकटका बारेमा पहिलो पटक सम्बोधन गर्नुभएका राजा फेलिपे छैटौंले अहिलेको अवस्था स्पेनका लागि निकै गम्भीर रहेको र सबै पक्षलाई एकताका लागि आह्वान समेत गर्नुभएको थियो । त्यसको २४ घण्टापछि नेता कार्लेसले राजा फेलिपे छैटौंले समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्नुको साटो क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाउनुभएको हो । स्पेनबाट अलग हुन चाहेको क्याटालोनियामा आइतबार जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा भोट दिएका झण्डै ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको क्याटालोनियाका नेताको दाबी छ । तर स्पेन सरकारले भने यसलाई अवैध भन्दै आएको छ । जनमतसंग्रहमा मतदातालाई रोक्ने प्रयासमा लागेको प्रहरीको कारवाहीमा ९ सय भन्दा बढी घाइते भएका थिए ।

Comment from facebook

Top