लौ हेर्नुस : के हो सरायँनाच ?

हुमाकान्त पोखरेल / असोज १६, २०७४ - सोमवार


नेपाल को पश्चिमी क्षेत्रका जिल्ला हरू मध्ये गुल्मी, पाल्पा, अर्घाखाची र प्युठान लगायतका जिल्लामा सराय नाच निकै लोकप्रिय नाच को रूपमा रहेको छ । तर विडम्बना पछिल्लो समयमा युवा पुस्ताले भने यो नाचलाई वेवास्ता गरेजस्तो देखिन्छ जसका कारण केही ठाउँ हरूमा यो नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । सराय नाच के हो ? यो कसरी विकास भयो रु भन्ने कौतुहलताको विषय वन्न सक्छ विभिन्न स्रोत तथा अग्रजहरू वाट सोध खोज गरी सराय नाचको महत्त्व का वारेमा जानकारी दिने प्रयत्न गरेको छु ।
सराय को अर्थ चुचुरो अर्थात् डाडा माथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरो अर्थात् डाडामाथि कोतमा शक्तिपीठका मन्दिर हुने र ऐतिहासिक हातहतियारको भण्डार पनि कोतको मन्दिरमा हुने हुदा कोतनजिकै रहेको सराय मा विजया उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको हो । सराय शब्दलाई वृहत् नेपाली शब्दकोशमा यात्री बस्न वा विश्राम गर्न बनाइएको सत्तल, विशेष पर्वका दिन मन्दिरभित्रका खुकुरी, तरवार, खड्क, ली आदि हतियार हातमा लिएर नचाउदै बाजाको तालमा नाच्दै देखाइने गुल्मी अर्घाखाची भेगका जिल्लाको एक प्रसिद्ध जात्रा भनिएको छ ।

भुरे–टाकुरे राजाहरुको पालामा पाल्पा, गुल्मी, अर्घाखाची र प्युठान जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रुपमा लिइएको छ । त्यस बेलाका राजाहरुले स्थापना गराएको शक्तिपीठ अथवा कोट मन्दिरबाट विजया दशमीको अवसरमा सराय नाच नाच्च लगाउने गरेको इतिहास छ ।
खाचीकोट दरबारमा जन्मिएकी १३ औं राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाह संग विवाह भएको थियो । त्यसैले पनि खाचीकोटको दरबारलाई विशेष महत्वका रुपमा लिइन्छ । चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने सम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण गरेको इतिहास रहेकाले सराय नाचको प्रचलन पछिका पुस्ताहरुले पनि ऐतिहासिक संस्कृतिको रुपमा लिएका छन् । खड्ग जुधाउने परम्परा, पञ्चबलि प्रथा र सराय नाच अझै पनि लोकप्रिय छ । प्राचीनकालदेखि नै गुल्मी र पाल्पा भेग मगरात क्षेत्रमा थियो ।
गुल्मी, पाल्पा र अर्घाखाँचीका विभिन्न ठाउँ मा मगर भाषा बोलिने हुँदा कतिपय स्थानमा ठाउँ को नामसमेत मगर भाषामा रहेका छन् । उदाहरणका लागि होलाङ्दी, रिडी, राम्दीजस्ता शब्दलाई लिन सकिन्छ । सराय नाचमा प्रयोग हुने वाख्खै शब्द पनि मगर भाषाबाट आएको हुनसक्छ । नेपाली शब्दकोषमा वाख्खैको शाब्दिक अर्थ भेटिदैन ।
तर पनि भाषाविद्हरुको भनाइअनुसार वाख्खैको अर्थ त्यो कहाँ छ रु त्यसलाई नछोडौ भन्ने भाव भेटिएको छ । बाजासहितको तालमा वाख्खै–वाख्खै भन्दै खुडा जुधाएर नाच नाचिन्छ । खुडा नचाउदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ ।यो नाच विजयादशमीको भोलिपल्ट एकादशीदेखि पूणिमा सम्म नाचिने प्रचलन छ । वाख्खै– वाख्खै को आवाज र शक्तिपीठबाट पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरवार र खुँडा नचाई एकापसमा जोडिएर सराय नाच नाच्ने गरिन्छ । खुँडा, भाला र तरवार नचाएर सराय नाचले दशैंपर्वको समापन गराउने प्रचलन पनि रहेको छ । सराय नाचको महत्व गुल्मी जिल्लामा पनि उत्तिकै छ । गुल्मी जिल्ला संस्कृतिको धनी मानिन्छ । ऐतिहासिक कोटका मन्दिरहरुमा खड्ग जुधाउने परम्परा, पन्चबलिको प्रथा र दशैको बेलामा कोटमौलाको शक्तिपीठबाट निकालिने सराय नाच गुल्मी जिल्लाको सेरोफेरामा अझै पनि लोकप्रिय छ ।

जिल्लाको धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयँगा गाउँमा नाचिने सराय नाचले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ । अहिले पनि यस क्षेत्रको सराय नाच हेर्न छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु आउँनेन गर्दछन् । हातमा खुँडा, ढाल, तरवार लिएर बाजागाजाका साथमा नाचिने सराय नाच विजया उत्सवको रुपमा लिने गरिन्छ । पश्चिमका पाल्पा, गुल्मी, अर्घाखाची, प्युठान, बाग्लुङ, स्याङ्जा आदि जिल्लामा प्रचलित ऐतिहासिक सराय नाचले कोटमौलाको देवीका मन्दिरमा मेला लाग्ने गर्दछ । भुरे–टाकुरे राजाहरुको युद्ध मात्र होइन दैत्यमाथि देवीको विजयको उत्सवका रुपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, खुँडा, भाला आदि हतियार प्रदर्शन गर्ने गरिन्छ ।
यसरी नाचिदै आएको यो नाच युवा पुस्ताले अनुसरण र संरक्षण गर्नुपर्ने देखिन्छ । साथै संस्कृतका नाममा भित्रीएका विकृति जस्तै वलि प्रथा लगायतका विभिन्न किसिमका कुप्रथा हरूलाई समयमै अन्त्य गर्नुपर्ने आवाज पनि उठेको देखिन्छ ।

Comment from facebook

Top