नाकाबन्दी चाँडै हटाइदिने कतारलाई अमेरिकाको आश्वासन

एकता न्यूज / असोज ४, २०७४ - बुधबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको अन्तरराष्ट्रिय संचार माध्यमले बताएका छन्।

कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन्। उनीहरुले आफ्नो आकासमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कतारका राजाले आफ्नो देशमा लगाइएको नाकाबन्दीका साथै अन्य कूटनीतिक समस्याका कारण उत्पन्न भएको असहज परिस्थितिको बारेमा जानकारी दिए।

सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त समस्याको समाधान चाँडै हुने आश्वासन दिएको बताइएको छ।

कतारका राजा थानीले आफ्नो देशमा देखिएको समस्याको अवगत गराउनुका साथै उक्त समस्याको समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनुपर्ने आग्रह गरेका थिए।

सो भेटका क्रममा अमेरिकाले जारी राखेको आतंकवाद अभियानमा कतारले पनि सघाउनुपर्नेमा जोड दिएको र यस विषयमा दुवै देश मिलेर कामगर्ने विषयमा समझदारी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

गत जुन महिनाको ५ तारिखदेखि साउदी अरेबिया नेतृत्वमा कतारका छिमेकी देशहरुले कतारलाई कूटनीतिक रुपमा एक्लाउँदै नाकाबन्दी लगाईरहेका छन्।

Comment from facebook

Top