एमा स्टोन बनिन् सबैभन्दा बढी कमाउने अभिनेत्री

एकता न्यूज / भदौ ८, २०७४ - बिहिबार


ओस्कार अवार्डमा धुम मच्चाउने चलचित्र ‘ला ला ल्याण्ड’ की अभिनेत्री एमा स्टोन यो वर्ष सबैभन्दा बढी कमाई गर्ने अभिनेत्री बनेकी छन् ।

फोर्ब्स पत्रिकाद्वारा जारी जुन् २०१६ देखि २०१७ बीचको अवधिमा सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीको सूचीमा स्टोन शीर्ष स्थानमा छिन् ।

एमा स्टोनतले यो १२ महिनाका क्रममा १७ करोडभन्दा बढी कमाई गरेर जेनिफर एनिस्टन र एमा वाटसनलाई पछाडि पारेकी हुन् ।
सन् २०१६ मा शीर्ष स्थानमा रहेकी जेनिफर लरेन्स यो वर्ष १५ करोड कमाइ गर्दै तेस्रो स्थानमा सीमित भएकी छन् । उनी लगाचार दुई वर्ष फोर्ब्सको यो सूचीमा शीर्ष स्थानमा रहँदै आएकी थिइन् ।

एमा स्टोनको कमाई गत वर्षको तुलनामा १६० प्रतिशतले बढेको हो । गत वर्ष एमाले करिब ६.४ करोड कमाइ गरेकी थिइन् ।
२८ वर्षीया एमा स्टोनले हालै हलिउडमा अभिनेताहरु र अभिनेत्रीहरुबीच आम्दानीका ठुलो अन्तर रहेको मुद्दा उठाएकी थिइन् ।

बलिउडको नामोनिशान छैन
बलिउडको कुनै पनि अभिनेत्रीले यो सूचीमा स्थान बनाउन सकेनन् । गत वर्ष दीपिका पादुकोण ६ करोड रुपैयाँसहित धेरै कमाई गर्नेको सूचीमा रहन सफल थिइन् । उनी १०औं स्थानमा थिइन् ।

यसपटक जुन अभिनेत्रीहरुले टप १० मा स्थान बनाएका छन् उनीहरुको औषत कमाई ७ करोडभन्दा बढी छ ।

जुनमा फोर्ब्सले जारी गरेको यो वर्ष सर्वाधिक कमाई गर्ने टप १०० सेलिब्रेटीको सूचीमा भारतको तर्फबाट शाहरुख खान ६५औं स्थान, सलमान खान ७१औं स्थान र अक्षयकुमार ८० औं स्थानमा छ्न ।

एमा वाट्सन एक मात्र ब्रिटिश अभिनेत्री
टप १० अभिनेत्रीहरुको यो सूचीमा १६ करोड आम्दानी गरेर जेनिफर एनिस्टन दोस्रो स्थानमा छिन् ।

छैटौ स्थानमा एमा वाट्सन टप टेनमा समावेश एक मात्र बेलायती अभिनेत्री छिन् । उनले पहिलोपटक यो सूचीमा स्थान बनाएकी हुन् ।
यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने टप अभिनेत्रीहरुले कुल ११० करोडभन्दा बढी कमाइ गरेका छन् । गत वर्ष टप टेन अभिनेत्रीहरुको कमाई १३१ करोड निकट थियो । यद्यपि पुरुष अभिनेताहरुको कमाई यसको आधाभन्दा पनि कम थियो ।

यो वर्ष टप टेन कमाई गर्ने अभिनेताको सूची यो महिनाको अन्त्यसम्म सार्वजनिक गरिने भएको छ।

Comment from facebook

Top