सागलाई लक्षित गरेर १२ करोडको भवन बनाउँदै राखेप

एकता न्यूज / भदौ ६, २०७४ - मङ्लबार


काठमाडौं – १३ औं सागलाई दृष्टिगत गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय प्रशासनीक कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ। त्रिपुरेश्वरस्थित राखेपको हाताभित्र निर्माण हुन लागेको भवनको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शिलान्यास गरेका हुन्।

 चार तलाको उक्त प्रशासनिक भवन निर्माण सम्पन्नका लागि करिब १२ करोड ७ लाख रुपैयाँ खर्च हुने राखेपले जनाएको छ। राखेप हाता भित्र ४ रोपनी १० आना जग्गा भवनका लागि छुट्टाइएको र जसमा भवनले ८ हजार ५ सय ३० वर्ग फिट क्षेत्रफल ओगट्ने राखेपका इञ्जिनियर अरुणकुमार उपाध्यायले बताए।

शिलान्यास कार्यक्रममा मन्त्री केसीले १३ औं सागलाई दृष्टिगत गरी समयमै भवन निर्माण सम्पन्न गर्नुपर्ने बताए। सागका लागि आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालयले बजेटमा कमी हुन नदिने प्रतिबद्धता जनाए।

शिलान्यास कार्यक्रममा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भवन अत्यधुनिक हुने बताउदै यो आर्थिक वर्षमा भवन निर्माणका लागि ४ करोड बजेट विनियोजन भएको जानकारी दिए।

Comment from facebook

Top