दोलखामा झडप, सुरक्षाकर्मीको गोलीबाट एकको मृत्यु

एकता न्यूज / बैशाख ३१, २०७४ - आइतवार


काठमाडौं – मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको पुष्टि गरे । उनले भने, ‘मेलु १ छटेश्वर मावी मतदान केन्द्रमा एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ ।’ उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मीले चलाएर एकको मृत्यु भएको हो ।

स्थानीयले प्रहरीले गोली चलाउँदा नकुल भूजेलको मृत्यु भएको बताएपनि प्रहरीले सनाखत नभएको बताएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप हुँदा भागदौड गर्ने क्रममा काँग्रेस कार्यकर्ता सूर्यप्रसाद न्यौपानेको टाउको फुटेको छ भने  घटनाको थप विवरण आउने क्रममा छ।

मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।

चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।

आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको थियो । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् ।

Comment from facebook

Top